काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकताको गृहकार्यमा जुटेका छन् । एकताको गृहकार्यका लागि माओवादी केन्द्रले गत सोमबार बैठक राखेर एकताको मोडलका बारेमा आन्तरिक छलफल चलाइसकेको छ भने एमालेले त्यसवारे धारणा तय गर्न शुक्रबार स्थायी कमिटी बैठक बोलाएको छ । एमाले नेता भीम रावलका अनुसार शुक्रबार बिहान बस्ने स्थायी कमिटी बैठकले त्यसबारे आधिकारिक धारणा तय गर्नेछ । बैठक उपाध्यक्ष वामदेव गौतमको निवास भैसेपाटीमा बस्नेछ । चुनावअघि एमाले र माओवादीबीच चुनाव सकिएलगत्तै पार्टी एकता गर्ने सहमति भएको थियो । तर, त्यसवेला एकताको मोडल कस्तो हुने भन्ने केही खुलाइएको थिएन । ‘महाधिवेशनसम्मका लागि केही सैद्धान्तिक र वैचारिक असमझदारीलाई पनि एकरूपता दिनुपर्नेछ । ती विषयमा हाम्रो गृहकार्य भैरहेको छ’ पार्टी एकता संयोजन समितिका सदस्य एव्म माओवादी नेता नारायणकाजी श्रेष्ठले रातोपाटीसँग भने, ‘पहिला खाका बन्नुपर्यो त्यसपछि एजेण्डा तय गरेर छलफल गरी निश्कर्षमा पुग्ने हो ।’ नेता श्रेष्ठका अनुसार शुक्रबार पार्टी एकता संयोजन समितिको बैठक बस्दैछ । उक्त बैठकमा छलफल हुने विषयका बारेमा दुबै दलले आ–आफनो तर्फबाट राख्ने धारणा तय गर्ने काम भइरहेको छ । पार्टी एकता संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष केपी ओली, बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम छन् भने माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायाकाजी श्रेष्ठ र रामबहादुर थापा बादल रहेका छन् ।