धरान/धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सामाजिक उत्तरदायित्वका निम्ति चिकित्सक नेपाल (पिएसआरएन) विद्यार्थी च्याप्टरले ओखलढुंगामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।
शिविरमा जेनेरल फिजिसियन, बालरोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ र छाला तथा यौनरोगको निःशुल्क जाँच गर्दै औषधिसमेत वितरण गरिएको छ । ८ सय भन्दा बढीले जाँच गरेको कार्यक्रममा छाला, यौनरोग तथा सामान्य रुघाखोकीलगायतका विरामीहरु बढी भेटिएको पिएसआरएनका नविन भट्टले जानकारी दिए ।
शिविरमा विशेषज्ञसहितको १५ जनाको टोलीले जाँच गरेको थियो । शिविरमा संलग्न बालरोग विशेषज्ञ डा. दीपक मोक्तानले चिसोको कारण रुघाखोकी, ज्वरोले ग्रसित बालबालिकाहरुको उपस्थिति धेरै रहेको बताए । उनका अनुसार सरसफाईमा पर्याप्त ध्यान नदिएर छाला सम्बन्धी रोगीहरु पनि धेरै आएका थिए ।
त्यस्तै स्त्रीरोग विशेषज्ञ डा. मनोज साहले महिलाहरुमा सेतो पानी बग्ने, आङ खस्ने समस्याहरू धेरै आएको बताए । जेनेरल फिजिसियन डा. सन्तोष बास्तोलाका अनुसार घुँडा दुख्ने, ढाड दुख्ने र अन्य नशा सम्बन्धी समस्याका विरामीहरु पनि प्रसस्तै भेटिएको थियो ।
स्थानीय नेत्रप्रसाद दाहाल र गाउँपालिका कार्यालयको संयोजनमा कार्यक्रम भएको संयोजक हरिशचन्द्र विष्टले बताए ।