धनकुटा । प्रदेश नं. १ को राजधानी धनकुटा हुनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका आन्दोलनकारीले आज विहान एसपी सवार भएको गाडी तोडफोड गरेका छन् । धनकुटा बजारमा रहेको मदनचोकमा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सीको स्थिति सिर्जना भएपछि आन्दोलनकारीले प्रहरीको गाडी तोडफोड गरेका हुन् । बुधबार बसेको मन्त्री परिषद्को बैठकले १ नं. प्रदेशको अस्थायी मुकाम विराटनगर तोकेपछि आक्रोशित धनकुटाबासी विहानैदेखि आन्दोलनमा उत्रिएका थिए । विहान करिब ९ बजेको समयमा एसपी सुदीप राजभण्डारीको नेतृत्वमा रहेको प्रहरी टोलीले बल प्रयोग गरी आन्दोलनकारीलाई पक्राउ गर्दै गाडीमा हाल्न थालेपछि प्रदर्शनकारी थप आक्रोशित भएका थिए । आक्रोशित प्रदर्शनकारीले ना १ झ १३१४ नं. को प्रहरीको गाडी तोडफोड गर्नुका साथै धनकुटामा अनिश्चितकालिन आम हड्तालको घोषणा गरेका छन् ।