सुनसरी । चाडपर्व नजिकिएसँगै गाउँ फर्किने यात्रुको भीडले बिहानैदेखि व्यस्त बन्ने धरानको भानुचोक साँझपख भने खाजा पसल, साना ठेला र किनमेल गर्ने सर्वसाधारणको चहलपहलले थप रमाइलो बन्छ ।

खोटाङ, भोजपुर, धनकुटा, ताप्लेजुङ, पाँचथर, विराटनगर र झापालगायतका जिल्लातर्फ जाने–आउने यात्रुको आवतजावतले दिनभर व्यस्त रहने भानुचोकमा साँझपख फरक दृश्य देखिन्छ ।

ठूला सवारीसाधनको चाप घट्दै जाँदा सडकछेउमा ठेलागाडा राखेर मःम, चाउमिन र अण्डारोललगायत खाजा बेच्ने व्यापारीको चहलपहल बढ्छ । खाजा खान आउने र किनमेल गर्ने सर्वसाधारणको भीडले चोकको वातावरण थप रमाइलो बनाउँछ ।

धरान–८ की अनिता राई विगत १० वर्षदेखि साँझपख भानुचोकमा ठेलामा मःम, चाउमिन र अण्डारोल बेच्दै आएकी छन् । दिनभर घरको काम सकेर खाजाका सामग्री तयार पार्ने उनी साँझ ५ बजे ठेला लिएर भानुचोक पुग्छिन् र राति ९ः३० बजेसम्म व्यापार गर्छिन् । उनलाई छोरीले पनि व्यापारमा सहयोग गर्दै आएकी छन् ।

“दिनभर घरको काम सकेर खाजाका सामग्री तयार पार्छु । साँझ ५ बजे भानुचोक आएर ९ः३० बजेसम्म व्यापार गर्छु । छोरीले पनि सहयोग गर्छिन्,” राईले भनिन् ।

पहिले प्रतिप्लेट रु. ३५–४० मा मःम र चाउमिन बेच्ने गरेकोमा अहिले मूल्य बढेर रु. ७० पुगेको छ । यही व्यवसायबाट छोराछोरीको पढाइ र घरखर्च चलाउन सहज भएको उनले बताइन् । राईजस्तै धरान–१५ की निरा मगरले पनि विगत नौ वर्षदेखि साँझपख भानुचोकमा मःम, चाउमिन र अण्डारोल बेच्दै आएकी छन् ।

खाजाको व्यापार सुरु गर्नुअघि चार वर्षसम्म मकै पोल्ने र आलु चप बेच्ने काम गरेको उनले सुनाइन् । त्यसबाट सोचेअनुसार आम्दानी नभएपछि खाजाको व्यापार सुरु गरेको उनले बताइन् ।

“महिला भएर साँझपख ठेला लिएर सडकमा निस्कँदा सुरुमा डर लाग्थ्यो, अप्ठ्यारो पनि हुन्थ्यो । अहिले बानी परिसक्यो । चाडपर्व सुरु भएकाले व्यापार पनि राम्रो भइरहेको छ,” मगरले भनिन् ।

दिनभर घरमै खाजाका सामग्री तयार पारेर साँझ ६ बजेतिर भानुचोक पुग्ने उनी राति १० बजेसम्म व्यापार गर्छिन् । चाडपर्वका बेला ग्राहकको चहलपहल बढ्दा व्यापार राम्रो हुने गरेको उनले बताइन् ।

साँझपख भानुचोकका सडकछेउमा रहेका साना चिया पसल र ठेलामा खाजा खाने, कुर्सीमा बसेर चिया गफ गर्ने तथा किनमेल गर्ने सर्वसाधारणको भीड देखिन्छ । ठेला व्यापारी र ग्राहकको चहलपहल बढेसँगै भानुचोकमा ट्राफिक व्यवस्थापनमा चुनौती थपिने गरेको छ ।

चाडपर्व नजिकिएसँगै बिहानैदेखि यात्रुको भीड बढ्ने भएकाले यात्रुको सुरक्षा र सवारी व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरीक्षक अनिल माबोहाङ लिम्बुले बताए ।

“चाडपर्व सुरु भएकाले बिहानैदेखि अत्यधिक भीडभाड हुने भानुचोकलाई विशेष प्राथमिकतामा राखेर ट्राफिक व्यवस्थापन गरिरहेका छौँ,” उनले भने । गाउँ फर्किने सर्वसाधारणको सुरक्षाका लागि यात्रुले टिकट पाए–नपाएको र सवारीसाधनको व्यवस्थापनको अवस्थाबारे सोधपुछ तथा जाँच गर्ने गरिएको उनले जानकारी दिए ।

साँझपख ठूला सवारीसाधनको चाप कम भए पनि मोटरसाइकल, ट्याम्पो र सफारीको आवतजावत तथा जथाभावी पार्किङका कारण सडक साँघुरिँदा समस्या हुने गरेको उनले बताए । ट्राफिक व्यवस्थापन सहज बनाउन वडा कार्यालय तथा नगरपालिकासँग समन्वय गरेर काम गरिँदै आएको पनि उनले बताए ।

दिनभरको गर्मी, धूलो, कोलाहल र हतारबाट थाकेका मानिसका लागि साँझपख भानुचोक भेटघाट गर्ने र साथीभाइसँग रमाइलो गफगाफ गर्ने ठाउँ बन्ने गरेको छ । सडकछेउका चिया पसल र फुटपाथमा राखिएका कुर्सीमा बसेर खाजा खाँदै गफिने सर्वसाधारणको दृश्य साँझपख सामान्य बनेको छ ।

चोकमा साँझपख युवाको जमघट पनि बढ्ने गरेको छ । कोही मोबाइलबाट भिडियो खिचिरहेका हुन्छन्, कोही फोटो खिच्दै रमाइरहेका हुन्छन् भने कोही गीत गाएर मनोरञ्जन गरिरहेका देखिन्छन् । झिलीमिली बत्तीले उज्यालिएको चोक आफैँमा मनमोहक देखिन्छ ।

धरान उपमहानगरपालिका–२ मा रहेको भानुचोक धरानको मुख्य बजार र व्यापारिक चहलपहलको केन्द्र मात्र नभई ऐतिहासिक महत्त्व बोकेको स्थान पनि हो । धरान–२ का स्थानीय बिर्खलाल तामाङले चोकमा भानुभक्त आचार्यको सालिक राखिएकाले यस स्थानको नाम भानुचोक रहन गएको बताए ।

चोकमा भानुभक्तको सालिक छ । जनआन्दोलनका बेला नाराबाजी, जुलुस तथा राजनीतिक र साहित्यिक गतिविधिका लागि यो चोक प्रमुख स्थलका रूपमा रहेको थियो ।

“केही दशकअघिसम्म भानुचोक आसपास टिनले बेरेका साना घर मात्रै थिए । त्यहाँ चिया पसल थिए । चिया पिउँदै राजनीतिक तथा सामाजिक विषयमा छलफल गर्ने चलन थियो । त्यतिबेला अहिले जस्तो ठेलामा खाजा बेच्ने चलन थिएन,” उनले सम्झिए ।

भानुचोकको इतिहाससँगै यसको स्वरूप पनि समयक्रममा बदलिँदै गयो । धरानमा लामो समयदेखि पत्रपत्रिका बिक्री गर्दै आएका ७५ वर्षीय कृष्णभक्त श्रेष्ठले विगतको तुलनामा अहिले चोकको स्वरूप निकै बदलिएको बताए ।

“विगतको तुलनामा अहिले चोक फेरियो, ठूला–ठूला घर बने र मानिस तथा सवारीसाधनको चाप उल्लेख्य बढ्दै गयो,” उनले भने ।

विसं २०४५ को भूकम्पपछि हङकङ र मकाउमा रहेका नेपालीको पहलमा रु. ५६ लाखको लागतमा भानुचोकको छेउमा घण्टाघर निर्माण सुरु भएको थियो । विसं २०४८ मा निर्माण सम्पन्न भएको घण्टाघरले यस क्षेत्रको पहिचान थप स्थापित गर्न सहयोग पुर्‍याएको श्रेष्ठले बताए ।

घण्टाघर बनेपछि चोकको रौनक बढ्न थाल्यो । वरपर व्यापारिक गतिविधि बढे र सहरको चहलपहल पनि यही क्षेत्रमा केन्द्रित हुन थाल्यो ।

दैनिक हजारौँ मानिसको आवतजावत हुने भानुचोक धरानका विभिन्न स्थान तथा बाहिरी जिल्लातर्फ जाने सवारीसाधनका लागि प्रमुख केन्द्र हो ।

“पहिले पत्रिका बेच्न धरानको छाताचोकतिर जानुपर्थ्यो, अहिले बिहानदेखि साँझसम्म भानुचोकमै ग्राहक भेटिन्छन् । पहिलेको तुलनामा अहिले यहाँ मानिसको चाप र चहलपहल निकै बढेको छ,” उनले भने ।

साँझपख ठेला तथा साना व्यवसायमा हुने चहलपहलले स्थानीय आर्थिक गतिविधि बढाउन र साना व्यवसायीको जीविकोपार्जनमा सहयोग पुर्‍याएको सुनसरी उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष किसन मास्केले बताए । रासस