राजविराज– क्लिनिकमै सेवाग्राही किशोरीलाई बलात्कार गर्न खोज्ने राजविराज १ पडरियाका हृदयनारायण झा नक्कली डाक्टर भएको खुलेको छ।
नेपाल र भारतमा औषधि पसल र क्लिनिकमा काम गरेको आधारमा उनले डेन्टल चिकित्सक बनेर स्थानीयलाई भ्रममा पार्दै आएको बुझिएको हो।
किशोरीमाथि बलात्कार गर्न खोजेको भन्दै केही दिनअघि झालाई प्रहरीले पक्राउ गरेपछि घटना सार्वजनिक भएको हो।
झाले डाक्टर बनेर १० वर्षदेखि राजविराज–७ मा आरती डेन्टल क्लिनिक सञ्चालन गर्दै आएका थिए। योग्यता र नेपाल मेडिकल काउन्सिलको लाइसेन्स नै नभएका झाले क्लिनिकमा बिरामी जाँच्ने तथा औषधि लेख्ने गरेका थिए।
पक्राउ परेसँगै उनले क्लिनिकमा रहेको बोर्डबाट आफ्नो पहिचान मेटाउन लगाएका छन्। ‘डा. एचएन झा–डेन्टिस्ट’ लेखिएको भागलाई केरमेट गरिएको छ।
एक सेवाग्राहीका अनुसार, झाले बिरामीलाई औषधि लेख्दा सादा कागजमा लेखेर दिने गरेका थिए।
प्रहरी नियन्त्रणमा रहेका झा डाक्टर नै नभएको मेडिकल काउन्सिलका सदस्य डा कालु सिंहले बताए।
‘काउन्सिलको दर्ता सूचीमा हृदयनारायणको नाम नै छैन। उनले डाक्टर बनेर ठगी गर्दै आएको देखिन्छ’, डा सिंहले भने।
हृदयनारायणका दाजु आनन्दले क्लिनिक दर्ता र काउन्सिलको लाइसेन्स नभएको स्वीकार गर्दै अभ्यासका आधारमा बिरामी जाँच तथा औषधि दिने गरेको बताए। भारतबाट आइएससी गरेका भाइलाई यौन दुर्व्यवहार प्रकरणमा फसाइएको उनको आरोप छ।
झाले गत पुस २७ गते उपचारका लागि आएकी एक किशोरीमाथि क्लिनिकमा बलात्कार प्रयास गरेका थिए। उनले साथमा आएकी आमालाई औषधि पसलमा राखेर किशोरीलाई क्लिनिकभित्र लगी दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ।
प्रहरीले म्याद थप गरी अनुसन्धान अघि बढाए पनि घटनालाई मिलापत्र गराउने प्रयास जारी नै रहेको पीडितका आफन्तले गुनासो गरेका छन्।
स्वास्थ्यखबरबाट