धरान/सुनसरीबाट प्रतिनिधित्व गरेका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘सुनसरी’ राजधानी बन्न सक्ने/नसक्ने बारे सञ्चारकर्मीहरुलाई खुलेर प्रतिक्रिया दिन सकेनन् । नेपाली कांग्रेस नगर समितिले आइतबार गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले संविधानले तोके अनुसार प्रदेशका दुई तिहाई सांसदले राजधानी तोक्ने बताए । सुनसरी राजधानी बनाउने/नबनाउने विषयमा पनि खुलेर बोलेनन् । अहिले तोकिएको राजधानी अस्थायी भएको र प्रदेश सभाले मात्रै स्थायी राजधानी तोक्ने बताए । उनी सुनसरी क्षेत्र नम्बर ४ का प्रदेश सभा सदस्यसमेत हुन् । मन्त्री हुँदा त निर्माण गर्न पहन गर्नुभएन सांसद हुँदा त के पहल गर्नुहोला भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले संविधानले व्यवस्था गरे अनुसार आफू कटिबद्ध रहेको बताए । उनले कांग्रेस कार्यकर्ताहरुलाई निराश नहुनको लागि पनि आग्रह गरेका थिए । ‘पार्टीले पराजय भोग्दैमा तपाईहरु निराश नहुनुस् ।’ उनले भने । कांग्रेस थप लोकतान्त्रिक भएर अघि बढ्नेसमेत बताए । अर्थमन्त्री कार्कीले तीन चरणको निर्वाचन पश्चात मूलुक अव विकास र आर्थिक क्रान्तिमा लाग्ने बताए । कांग्रेसबाट सुनसरीबाट निर्वाचित प्रदेश तथा प्रतिनिधि सभाका समानुपातिक सांसदहरुलाई अविर र टीका लगाइदिएर बधाई ज्ञापन गरिएको नगर सभापति तिलक राईले बताए । कार्यक्रममा सामानुपातिकक सांसद नवोदिता चौधरी र चन्द्रप्रसाद श्रेष्ठलाई बधाई ज्ञापन गरिएको सचिव श्याम पोख्रेलले बताए ।