धरान  । २३ औं जनयुद्ध दिवशको अवसरमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नगर समितिले निकालेको मशाल जुलुसमा प्रहरी हस्तक्षेपको प्रयास भएको छ । पार्टीका जिल्ला इन्चार्ज प्रज्वलको नेतृत्वमा धरानको रत्नरोडबाट निकालिएको मसाल जुलुसमा प्रहरीले हस्तक्षेपको प्रयास गरेको हो । प्रहरीले त्यसक्रममा इन्चार्ज प्रज्वल, धरान नगर सेक्रेटरी सुरज र दलित मोर्चा सुनसरीका दुर्गासंकर बिकलाई पक्राउको प्रयास गरेको थियो । तर, अन्य कार्यकर्ताहरुले दवाव दिएपछि प्रहरीले पक्राउ नगरेको अखिल नेपाल जनसास्कृतिक महासंघका केन्द्रीय सदस्य लम्जेल संर्घषशीलले बताए । विप्लव नेतृत्वको पार्टीले देशभर नै जनयुद्धमा शहिद भएका शहिदहरुको सम्झनालाई ताजा बनाउँदै मसाल जुलुस निकालेको थियो । त्यसक्रममा धरानको रत्नरोडबाट निस्किएको जुलुस महेन्द्रपथ हुँदै भानुचौकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा नगर कमिटीका सेक्रेटरी सुरज राईलगायतले बोल्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरुले शान्तिपूर्ण वातावरणमा मसाल जुलुस गर्न पाउनु पर्ने भन्दै नाराबाजी गरेका थिए । माओवादीले हरेक वर्षको फागुन १ गते जनयुद्ध दिवश मनाउने गरेको छ ।