विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई गोप्य म्यासेज (सूचना) आएपछि विराटनगरको एक होटलमा प्रहरीले आकस्मिक अपरेशन चलाएको छ ।
विराटनगर-१३ मलाया रोडस्थित नाम नखुलेको एक होटलमा अवैध यौनधन्दा सञ्चालन भइरहेको सूचनाका आधारमा बिहीबार दिउँसो छापा मारेर प्रहरीले दुईजना किशोरीको सकुशल उद्धार गरेको छ भने होटल सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।
उक्त होटलमा पहाडी जिल्लाका किशोरीहरूलाई ल्याएर बन्धकजस्तै बनाई सीमापारि भारतबाट आउने ग्राहकहरूसँग अवैध यौनधन्दामा लगाउने गरिएको सूचना प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको मोबाइलमा म्यासेजमार्फत् पुगेको थियो । सूचना प्राप्त हुनासाथ प्रजिअ कट्टेलले जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवाललाई तत्काल छापा मार्न निर्देशन दिएका थिए ।
प्रजिअको निर्देशनसँगै एसपी कटुवाल र सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाको नेतृत्वमा खटिएको संयुक्त टोलीले होटलमा आकस्मिक छापा मारेको थियो । टोलीले होटलबाट दुई किशोरीलाई उद्धार गर्दै सञ्चालकलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको हो ।
छापा मारिएको उक्त होटल केही दिनअघि मात्र सञ्चालनमा आएको र होटलमा कुनै साइनबोर्डसमेत नरहेको पाइएको छ । सीमानजिकै रहेकाले उक्त होटलमा मदिराको समेत अवैध कारोबार हुने गरेको र भारतीय नागरिकहरू बढी आउने गरेका थिए । होटल सञ्चालकले पहाडी जिल्लाबाट विभिन्न प्रलोभनमा किशोरीहरूलाई ल्याएर मदिरा सेवन गर्न आउने ग्राहकहरूसँग अवैध यौनधन्दामा लगाउने गरेको स्थानीयको भनाइ छ ।
“होटलमा अवैध गतिविधि भइरहेको सूचना आएलगत्तै हामीले विशेष अपरेशन चलाएका हौँ” एसपी कटुवालले भने, “दुई किशोरीको उद्धार गरिएको छ र अवैध धन्दा चलाउने सञ्चालकलाई नियन्त्रणमा लिएका छौँ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।”
प्रहरीले पक्राउ परेका सञ्चालक र उद्धार गरिएका किशोरीहरूको पहिचान हाल गोप्य राखेको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।

































