विराटनगर । मोरङमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा नियम उल्लङ्घन गर्ने २९ वटा व्यावसायिक फर्मलाई ६ लाख ९२ हजार रुपैयाँ जरिबाना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा गरिएको अनुगमनमा ७४ वटा फर्मको निरीक्षण गर्दा बिलविजक जारी नगरेकादेखि म्याद गुज्रिएका वस्तु बिक्रीसम्मका अनियमितता भेटिएका हुन् । उपभोक्ताको हित संरक्षण, वस्तुको गुणस्तर, मूल्य, नापतौल र व्यावसायिक पारदर्शिता कायम गर्ने उद्देश्यले विराटनगर महानगरपालिका तथा आसपासका बजार क्षेत्रमा अनुगमन गरिएको प्रशासनले जनाएको छ ।
अनुगमनका क्रममा बिलविजक जारी नगर्ने, खरिद-बिक्री खाता दुरुस्त नराख्ने तथा करसम्बन्धी मापदण्ड पालना नगर्ने १९ वटा फर्मलाई १ लाख ९२ हजार रुपैयाँ जरिबाना गरिएको छ । त्यस्तै लेबल नभएका, पुनः प्याकेजिङ गरिएका तथा म्याद गुज्रिएका सामग्री बिक्री गर्ने पाँचवटा फर्मलाई ७५ हजार रुपैयाँ जरिबाना गरिएको प्रशासनले जनाएको छ । अनुगमन टोलीले दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका तीनवटा फार्मेसीमा समेत सिल गरेको छ । औषधि ऐन तथा सम्बन्धित मापदण्ड पालना नगरेको पाइएपछि ती फार्मेसीलाई कारबाही गरिएको हो ।
त्यसैगरी विराटनगर-९ स्थित एक पसलमा ४ सय ५० किलो चिनी गोदाममा भण्डारण गरिएको अवस्थामा फेला परेको प्रशासनले जनाएको छ । उक्त सामग्री नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमार्फत् आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ । अनुगमनका क्रममा विराटनगर-६ स्थित सेन्ट्रल मलमा व्यवसाय सञ्चालन गरिरहेका दुई चिनियाँ नागरिकले कानूनविपरीत गतिविधि गरेको पाइएको प्रशासनले जनाएको छ । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि अध्यागमन विभाग काठमाडौँ पठाएको छ ।
प्रशासनले व्यवसायीलाई फर्म दर्ता तथा नवीकरण अद्यावधिक राख्न, वस्तुको मूल्यसूची अनिवार्य रूपमा राख्न, नापतौलका उपकरण प्रमाणित गराउन र प्रत्येक कारोबारमा बिलविजक जारी गर्न निर्देशन दिएको छ । म्याद नाघेका तथा अखाद्य वस्तु बिक्री गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने र उपभोक्तालाई ठगी गर्ने व्यवसायीमाथि प्रचलित कानूनअनुसार कारबाहीलाई निरन्तरता दिने प्रशासनले जनाएको छ । उपभोक्तालाई पनि सामान खरिद गर्दा उत्पादन तथा म्याद समाप्ति मिति जाँच गरेर मात्र खरिद गर्न र ठगी वा अनियमितता भएको पाइए सम्बन्धित निकायमा जानकारी गराउन प्रशासनले आग्रह गरेको छ ।

































