काठमाडाै । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकेलगत्तै वाम गठबन्धनभित्र उम्मेदवारका बारेमा अनौपचारिक छलफल सुरु भएको छ । यद्यपि, पार्टी एकता संयोजन समितिमा भने यो विषयले अझै औपचारिक प्रवेश पाएको छैन ।
भावी राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले वरिष्ठ नेता झलनाथ खनाल, माओवादी नेता अमिक शेरचन अकांक्षी देखिएका छन् । भण्डारीले ओली र प्रचण्डसँगको पटकपटकको भेट र डिनर मिटिङमार्फत कूटनीतिक ढंगले दोहोरिने चाहना व्यक्त गरेकी छन् । उता खनालले अहिलेकै राष्ट्रपति दोहोरिँदा राम्रो सन्देश नजाने भन्दै घुमाउरो तरिकाले राष्ट्रपति भण्डारीको दोहोरिने चाहनाको विरोध गरेका छन् ।
तर राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले संक्रमणकालीन अवधि थोरै भएकाले एक कार्यकाल दोहारिने इच्छा राख्दै अाएका छन् । वाम गठबन्धन बनेलगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता माधव नेपालले राष्ट्रपति बन्ने चाहना अस्वीकार गर्दै आएका छन् ।