राजविराज । सप्तरी जिल्लाको खडक नगरपालिका ९ लालपत्ता मा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ।
पार्वतीकुमारी मण्डललाई बलात्कारपछि हत्या गरेको आरोपमा मृतकका ठूलाबुबाका छोरा १८ वर्षीय राजदेवलाई प्रहरीले पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार राजदेवले गत माघ २५ गते बहिनीको बलात्कार गरी हत्या गरेका थिए । घटनालाई परिवारले नै गुपचुप राख्न खोजेका कारण अनुसन्धान प्रक्रिया जटिल र लामो भएको एसपी मुकेशकुमार सिंहले जनाए ।
आफ्नै कोठामा सुतिरहेकी बालिकालाई बलात्कार गरेर कुर्ताको तुनाले घाँटी बाँधेर हत्या गरिएको सिंहले बताए । ‘बालिका चिच्याएपछि घटना सार्वजनिक हुने डरले लुकाउन खोज्दा अर्को घटना घटेको पाइयो,’ एसपी सिंहले भने, ‘त्यसपछि पनि परिवारका सबै मिलेर घटनालाई दवाउने प्रयास भयो।’
बालिकाको मृत्यु भएपछि गाउँमै जलाउने प्रयास हुँदै गर्दा मावलीपटिका हजुरबाले ‘शरीर तातो छ, उपचार गराउनुपर्छ’ भन्दै स्थानीय मेडिकल पसलमा पु¥याएपछि घटनाबारे खुलासा भई प्रहरीको जानकारीमा आएको सिंहले जनाए।
‘बालिका मरिसकेको थाहा पाएपछि मेडिकलले बहाना बनाएर लहान अस्पताल पठायो,’ उनले घटनाबारे भने, ‘घाँटीमा डोरीको डाम देखिएपछि अस्पताल मार्फत हामीलाई जानकारी भयो।’
पोस्टमार्टमका क्रममा डाक्टरले नै बलात्कारको आशंका गरेको र अनुसन्धानका क्रममा सबै कुरा खुल्दै गएको प्रहरीले जनाएको छ। लगत्तै पोस्टमार्टम र चेकजाँचका लागि शवलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र रिपोर्ट आएपछि थप कानुनी प्रक्रिया अघि बढाइने सिंहले बताए।