विराटनगर/ प्रदेश प्रमुखबाट नियुक्त भई पदभार ग्रहण नगरुन्जेल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको बसाइ होटलमा भयो। एमाले संसदीय दलको नेतामा निर्वाचित हुने प्रक्रियासम्म केही सहयोगी र प्रदेशसभा सदस्य पनि सँगै होटलमै बसे।

विराटनगरको हाटखोलामा अवस्थित फन एन्ड फुड भिलेज होटलमा १५ दिन बिताएका राईले पार्टीको महत्वपूर्ण बैठक र संसदीय दलको चुनावी रणनीति पनि त्यहीँ बसेर बनाएका थिए। बिहीबार मुख्यमन्त्रीको कार्यभार सम्हालेलगत्तै अस्थायी बसाइका लागि नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरको गेस्ट हाउस सरेका मुख्यमन्त्रीको आवासको अझै टुंगो लाग्न सकेको छैन। बैंकको गेस्ट हाउस अस्थायी मात्र हो।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको बास पनि होटलमै छ। आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो विराटनगर झरेदेखि होटलै बसिरहेका छन्। प्रदेशसभा बैठक र सरकार गठन प्रक्रियाअघिदेखि नै आङ्बो तथा माओवादी केन्द्रका प्रदेशसभा सदस्य पनि होटलमै बसिरहेका छन्। उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत सुनसरीस्थित आफ्नै निवासबाट विराटनगर आउजाउ गरिरहेका छन्।

त्यस्तै सामाजिक विकासमन्त्री जीवन घिमिरे शपथपछि पदभार ग्रहण गरेर विराटनगरस्थित निवास फर्किए।

अन्नपूर्णपाेष्टबाट