काठमाडौं/ केपी शर्मा ओलीको मन्त्रिपरिषद्मा नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले फोहोर गर्नेलाई गालामा सुम्सुम्याउने होइन कि ठाउँका ठाउँ डण्डा लगाउने बताएका छन् । मन्त्री पण्डितले वातावरण स्वच्छ राख्न निर्दयी कदम चाल्नुपर्ने आवश्यकता औंल्याउँदै आफू त्यसको लागि तयारी अवस्थामा रहेको बताए ।
रिपोर्टर्स क्लब नेपालमा बाग्मती बचाउ अभियान नेपाल र राधिका ट्रष्ट नेपालको संयुक्त आयोजनामा भएको नवनियुक्त मन्त्रीद्धय लालबाबु पण्डित र थममाया थापालाई सम्मान गर्ने कार्यक्रममा बोल्दै मन्त्री पण्डितले भने, “म इमान्दारीपूर्वक काम गर्छु । सबैका कुरा सुन्छु । देश र जनताको हितमा काम गर्छु ।”
मन्त्री पण्डितले जनताले आफूले जिताएका प्रतिनिधिमार्फत देशको विकास र समृद्धि चाहेको बताउँदै त्यसका लागि आफूहरु तयार रहेको उल्लेख गरे । उनले भने, “मैले वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेको छु । काठमाडौंलाई धुलोमुक्त बनाउनुछ । मलाई सबैले यही प्रश्न गर्नुहुन्छ । मास्क लाउन नपर्ने दिन कहिले आउँछ ? भनेर । अब म छिट्टै केही निर्णय लिन्छु । अहिले आन्तरिक परामर्शमा व्यस्त छु ।”
उनले मन्त्री हुनुभन्दा पहिलेपनि आफू बाग्मती सफाई अभियानमा सहभागी भएको स्मरण गराउँदै भने, “अहिले बाग्मती केही सफा भएको छ । फोहोर गरे दण्डित गर्नुपर्छ । यसमा म अब कठोर भएर प्रस्तुत हुन्छु ।” उनले बागमतीलाई स्वच्छ बनाउन सफाई अभियानलाई तीव्रता दिने पनि विश्वास दिलाए ।
फोहोर गर्नु हुँदैन है भन्ने अवस्था सिर्जना गर्नुपर्ने बेला आएको बताउँदै मन्त्री पण्डितले थपे, “अब फोहोर गर्नेलाई डण्डा चलाउनुपर्छ । अन द स्पट डण्डा हान्नुपर्छ ।” उनले अधिकार र कर्तब्य सँगसँगै आउने भएकोले जे गर्दा पनि मानवअधिकार उल्लंघन हुन्छ भनेर त्यत्तिकै बस्न नहुने धारणा राखे । मन्त्री पण्डितले प्रश्न गरे, “गाला सुमसुमाएर र रोएरमात्रै देश बन्छ त ? हेरक क्षेत्रका दण्डहीनताको अब अन्त्य गर्नुपर्छ ।”
सोही कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले संविधान कार्यान्वयन गर्नेतर्फ मुलुक अघि बढेकोले अबको सरकारको मुख्य ध्येय नै विकास र समृद्धि भएको उल्लेख गरिन् । उनले वर्तमान सरकार जनअपेक्षा पूरा गर्ने दिशातर्फ अघि बढ्ने बताउँदै भनिन्, “वाम गठबन्धनको सरकार बनेको छ । राजनीतिक अस्थिरता समाप्त भएको छ । अब हामी संविधानको मर्म र भावनाअनुसार नै नीति तथा कार्यक्रमहरु ल्याउँछौं ।”
राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदा तिमल्सिनाले नवनियुक्त मन्त्रीद्वय पण्डित र थापाको नेपाली राजनीतिमा विशेष योगदान रहेकोले अहिले महत्वपूर्ण जिम्मेवारी सम्हालेको बेला जनताको मन जित्न सुझाव दिएकी थिइन् । उनले सूचनाको पहुँच सबै नागरिकमा पुराउनुपर्नेमा समेत जोड दिइन् ।
कार्यक्रममा ट्रष्टकी अध्यक्ष एवम् समाजसेवी राधिका पोखरेलले आफू बाँचुञ्जेलसम्म समाजसेवामा समर्पित हुने दृढता व्यक्त गरेकी थिइन् । उनले अब नेपालमा चाइल्ड केयर सेन्टर खोल्ने योजनामा रहेकोले सरकारले जग्गाको व्यवस्था गरिदिए राम्रो हुने धारणा पनि राखिन् । क्लबका सभापति ऋषि धमलाले कार्यक्रम सफल बनाउनको लागि सहयोग पुराएकोमा हार्दिक आभार पनि व्यक्त गरेकी थिइन् । कार्यक्रममा बाग्मती बचाउ अभियानका अभियन्ता केशबप्रसाद पुडासैनीले पनि आफ्नो धारणा राखेका थिए ।