मोरङ/ इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीको टोलीले शनिबार राती ५ लाख मूल्य बराबरको ब्रोईलर कुखुराको चल्ला बरामद गरी आईतबार जिल्ला पशु कार्यालय बुझाएको छ।
गोप्य सुचनाको आधारमा राती साढे ११ बजे खटिएको टोलीले मोरङको धनपालथान गाउँपालिका २ अमाहीबरियाती स्थित खयरवना नाकाबाट बि.आर. ११ जिए ८८६३ नम्बरको भारतीय पिकअपमा लोड गरेर नेपालतर्फ भित्र्याउदै गरेको अबस्थामा उक्त मूल्य बराबरको ६ हजार वटा ब्रोईलर कुखुराको चल्ला बरामद गरेको थियो।
बरामद चल्ला र गाडीलाई आवश्यक अनुसन्धान पछी आईतबार जिल्ला पशु क्वारेन्टाइन कार्यालय बिराटनगरमा बुझाईएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।
रंगेली प्रहरीले सीमा नाका एरियाबाट अवैध रुपमा हुने भन्सार छली, चोरी निकासी एवम् पैठारी नियन्त्रण गर्ने अभियान संचालन गर्दै आईरहेको छ।