काठमाडौं/ पार्टी एकताको आधारपत्रमा हस्ताक्षर गरेपछि एमाले र माओवादी केन्द्रका अध्यक्षहरु संवैधानिक पदहरुको बाँडफाँडमा केन्द्रित भएका छन् । एमाले निकट स्रोतले बताए अनुसार राष्ट्रपति र उपराष्ट्रपतिमा बहालवाला व्यक्तित्वहरुलाई नै एकपटक मौका दिने सहमति भएको छ ।

एमाले उपाध्यक्ष रहिसकेकी विद्यादेबी भण्डारीले राष्ट्रपतिको पदमा रहेर मर्यादा अनुकूल भूमिका निर्वाह गरेको निष्कर्ष दुई नेताको रहेको बुझिएको छ । त्यसैगरी माओवादी केन्द्रका लडाकू नेता नन्दबहादुर पुनका हकमा पनि उनले उपराष्ट्रपतिको मर्यादा राखेको निष्कर्ष उनीहरुको छ । यही कारण दुइदलले एकएक पद साझेदारीमा लिने सहमति भएको थाहा भएको छ ।

दुइदलवीच यो सहमति बन्नु अघि राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई शीतल निवासमा दिएको दिवाभोजको निकै आलोचना भएको थियो । उनले आफू राष्ट्रपतिमा दोहोरिन सहमर्थन खोजेको भन्ने अर्थमा दिवाभोजको आलोचना गरिएको थियो ।

यसैगरी एमाले माओवादी केन्द्रका नेताले सभामुख र उपसभामुख पदको बाँडफाँड पनि केहीदिन भित्र गरिसक्ने भएका छन्।

सभामुखमा माओवादी नेतृ तथा पूर्व सभामुख ओनसरी घर्तीलाई नै दोहोर्याएर मौका दिने कि नयाँलाई अवसर दिने भन्नेमा छलफल भैरहेको बुझिएको छ । एमालेले भने माओवादी नेता कृष्णबहादुर महरालाई सभामुख बनाउन प्रचण्डलाई सुझाव दिएको बताईन्छ ।

महरालाई सभामुख बनाउने सहमति भएमा एमाले उपनेता तथा संविधान सभाका पूर्व अध्यक्ष सुवास नेम्वाङ्गलाई उपप्रधानमन्त्री सहित गृह मन्त्रालयको जिम्मेवारी दिने सोचमा प्रधानमन्त्री ओली रहेको एक उच्च सूत्रले बताएको छ । यसमा महरा र नेम्वाङ्गवीच पनि सामान्य कुराकानी भएको र उनीहरु आआफ्ना अध्यक्षलाई मनाउन पनि सहमत भएको थाहा भएको छ।

साभारः सरलपत्रिका