काठमाडौं/ सर्वोच्च अदालतका प्रधानन्यायाधीशको जन्ममिति फरक–फरक रहेको भन्दै नैतिक प्रश्न उठाउने अनशनकारी डा. गोविन्द केसीले त्रिभुवन विश्वविद्यालयमा पेस गरेको दस्तावेजहरूमा भिन्न–भिन्न जन्ममिति भएको तथ्य फेला परेको छ ।

हाल केसीको अनसनस्थलका रूपमा समेत चिनिएको त्रिवि शिक्षण अस्पतालमा प्राध्यापक रहेका केसीको एसएलसीको चारित्रिक प्रमाणपत्रमा जन्ममिति २०१३ माघ २४ गते उल्लेख गरिएको छ । तर, उपप्राध्यापक रहँदा सहप्राध्यापकमा बढुवा हुनका लागि भरेको आवेदन फाराममा जन्ममिति २०१३ मंसिर २७ गते भनि लेखिएको छ ।

त्यस्तै, मिति २०६५ साउन २९ गते प्राध्यापक बढुवाका लागि उनले विश्वविद्यालयमा पेस गरेको आवेदन फारममा भने असोज २७ गते २०१३ भनी केसीले आफ्नो जन्ममिति उल्लेख गरेका छन् । केसीले त्रिभुवन विश्वविद्यालयमा आफ्नो नागरिकताको प्रमाणपत्र समेत पेस नगरेको बुझिएको छ ।

उनले अनिवार्य रूपमा भर्नुपर्ने सिटरोल नभरेको र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि समेत पेस नगरेकोले थप आशङ्का जन्माएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति फरक रहेको भनी प्रश्न उठाउने केसीले अब आफ्नै जन्ममिति र नागरिकताको प्रमाणपत्रबारे कसरी स्पष्टिकरण दिने हुन्, जिज्ञाशाको विषय बनेको छ । साभारः घटना र विचार