विराटनगर/ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ। सुनसरीको इनरुवा–३ महेन्द्र चौकका ४२ वर्षीय हिरा आचार्यको दुई जटिल रोगको एकैसाथ शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।

आचार्यको एन्यूरिजम (मस्तिष्कभित्रको नसामा रगतको पोका फुटेको) र ब्रेन ट्यूमरको एकैसाथ सफल शल्यक्रिया गरिएको नोबेल अस्पतालका न्युरो सर्जन डा प्रकाश काफ्ले बताए।

अन्तर्राष्ट्रिय स्तरको न्यूरो सर्जरी सेवा सुरु गरेको नोबेलले इन्ट्राअपरेटिभ एमआरआई र आइ सेभेन नेभिगेसन जस्ता अत्याधुनिक उपकरणको सहायतामा दुवै रोगको एकैसाथ सफल शल्यक्रिया गर्न सफल भएको डा काफ्लेको भनाइ छ।

‘यस्तो समस्या विश्वमै १ सय ७६ जना बिरामीमा मात्र पाइएको छ’, डा काफ्ले भने, ‘अत्याधुनिक उपकरणबाट दुर्लभ र जटिल शल्यक्रिया सफल भयो।’

सो शल्यक्रिया प्रा  डा जुहा एन्टेरो हर्नेशनेमी, डा आइपी चेरियन, डा काफ्ले, डा सुनिल मुनाकोमी, डा दीपक पौडेल, डा विजय केसी लगायतका चिकित्सकहरुको टोलीले गरेको हो।

‘एन्यूरिजमको समस्या र त्यसमा पनि ब्रेन ट्यूमरभित्र भएको एन्यूरिजम झनै खतरनाक भए पनि बिरामीको ज्यान बचाउन सफल भएका छौं। यो ठूलो उपलब्धि हो’, न्युरो विभागका निर्देशक डा आइपी चेरियनले भने।

स्वास्थ्य खबरपत्रिका