काठमाडौं/ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले गुण्डा र अपराधीहरुसँग हात मिलाउँदै नहिँड्ने दाबी गरेका छन् ।

शनिवार राजधानीको विशालनगरमा सामुदायीक सेवा केन्द्र तथा सामुदायिक प्रहरी केन्द्र टुँडालदेवीले आयोजना गरेको कार्यक्रममा बोल्दै एसएसपी पोखरेलले भने, ‘गुण्डा र अपराधीसँग हात मिलाउदै हिँड्दिन, तिनीहरु बिरुद्ध निर्दयी रुपमा प्रस्तुत हुन्छु ।’

प्रहरी अफिसरका लागी आकर्षक पोष्टिङ मानिने काठमाडौं प्रमुखको रुपमा केही दिनअघि मात्रै सरुवा भएका पोखरेलले कुनै लोभ लालचमा नफस्ने दाबी गरेका छन् ।

‘म लोभमा फसेको दिन मेरो शरीरमा बर्दी हुने छैन’ उनले भने, ‘बर्दी र अपराधी कदापी सँगै हुन सक्दैनन्, बर्दीवालको आँखाले अपराधी देख्नै सक्दैन ।’

काठमाडौंमा बसेर रातारात तस्करी गर्नेहरुको ूुचना दिन सार्वजनिक आह्वान गर्दै उनले भने, ‘आफ्नो छिमेकमा कसैले तस्करी गरेको थाहा भएमा त्यस्ताको सूचना दिन डराउनुपर्दैन, तपाईँको साथमा राज्य छ हामी प्रहरी छौं ।’

‘मैले मेरा कर्मचारीलाई भन्ने गरेको छु, अब हामीले तस्करी गरेर चिल्ला गाडी चढ्ेनहरुलाई नमस्कार गर्नु हुन्न’ उनले भने, ‘तस्करलाई स्यालुट र सलाम हैन कारबाही चलाउनुपर्छ ।’

पछिल्लो समय अपराधि बलिया हुँदै गएको स्विकार्दै एसएसपी पोखरेलले नागरिकको साथ पाएमा प्रहरीले जस्तोसुकै अपराधिलाई कानुनी दायरामा ल्याउन सक्ने बताएका छन् ।

पहिलोपटक काठमाडौंको नेतृत्व गरेका पोखरेलले संगठनभित्र रहेका घुस्याहा प्रहरीहरुको पनि संरक्षण नगर्ने दाबी गरेका छन् ।

‘मैले घुस्याहालाई संरक्षण गरेको थाहा पाउनुभयो भने एउटा ट्विट गर्दिनुस्, मेरो बर्दी उत्रिनेछ’ उनले भने, ‘मेरा प्रहरीले गल्ति गरेको सुचना छन् भने त्यो पनि दिनुस् त्यस्ता प्रहरीको बर्दी उतार्छु, हतियार बोकेर राज्यको बर्दी लगाउने प्रहरी जिम्मेवार हुनैपर्छ ।’

काठमाडौंमा कार्यरत सिपाहीहरुले खाने ‘मेस’ र सुत्ने ‘ब्यारेक’ हेर्दा जो–कसैको आँखामा आँशु आउने उल्लेख गर्दै एसएसपी पोखरेलले अपराधिलाई छुटाउन ‘मेरो मान्छे’ भन्दै सिफारिस गर्नेहरु महा–अपराधी भएको बताए ।

समाजका मान्छेहरुसँग पाँचतारे होटलमा गएर चिया नखाने उद्घोष गर्दै एसएसपी पोखरेलले भने, ‘गलत मान्छे हो भन्ने जानेर त्यस्ता सँग हात मिलाउँदिन, नमस्कार पनि गर्दिँन ।’

‘अहिले प्रहरीहरु ठुलाबडाको लागि मात्रै काम गर्छन् भन्ने मान्यता स्थापित भएको छ, तर म सबैभन्दा पहिले सडक र झुपडीमा बस्ने निमुखाको लागि काम गर्छु’ उनले थपे, ‘तल्लो तहका जनताको न्यायका लागी काम गरेर नयाँ शुरुवात गर्दै छु, सवैले गर्व गर्न लायक प्रहरी अधिकृतको रुपमा काम गर्न चाहन्छु ।’

साभारः राताेपाटी