शनिश्चरे । मोरङको पथरी जेसीजले मृगौला पिडीतको उपचार सहयोगका लागि सांगीतिक कार्यक्रम गरेर यो वर्षको होली पर्व मनाउने भएको छ ।
होली पर्वका अवसरमा फागुन १८ गते पथरी चोकमा सांगीतिक कार्यक्रम गरी मिक्लाजुङ २ का दुवै मृगौला पिडीत युवा सेनेहाङ तुम्वाहाम्फेको उपचारमा सहयोग जुटाइने पथरी जेसीजले सोमवारको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । अरुलाई असर नपार्ने गरी शान्तिपूर्ण रुपमा होली खेल्ने कुराको सन्देश छर्दै समस्यामा परेकाहरुलाई सहयोग समेत पुर्याउने परम्पराको सुरुवातका रुपमा यो वर्षको होली पर्व मनाइने जेसीज अध्यक्ष टीकाविक्रम चौहानले जनाए ।
पहिलो नेपाली तारा दीपक लिम्बू सहितका पूर्वका ब्याण्डहरुको गीत संगीतका प्रस्तुति रहने कार्यक्रम संयोजक सुमन सुब्बा र टेकेन लिम्बूले बताए । कार्यक्रममा पीएलओ नेपाल आइडलका उत्कृष्ठ २० का प्रतिष्पर्धीहरु कार्यक्रमका आकर्षक रहने भएका छन् । स्थानीय संघ संस्था तथा व्यवसायिक प्रतिष्ठानबाट सहयोग संकलन गरी कम्तिमा १ लाख रुपैयाँ मृगौला पिडीतलाई प्रदान गर्ने कार्यक्रमको लक्ष्य रहेको छ ।
२२ वर्षीय सेनेहाङको उपचार सहयोगार्थ कदम थिएटर र समदर्शी सञ्चारले झापाको दमकमा पनि फागुन २१ गते वृहत सांगीतिक कार्यक्रम गर्ने सोमवार पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
गोर्खा डिर्पाटमेण्टको खुल्ला प्राङ्गणमा हुने सांगीतिक कार्यक्रममा ताराप्रकाश लिम्बू, विनोद खम्वू, कुशल थलङ्ग लगायत स्थानीय व्याण्डसहित कलाकारहरुको प्रस्तुती रहने सेनिहाङ्ग वचाउ अभियानकी संयोजक समेत रहेकी कदम थिएटरकी सृजना निङलेखुले जनाउनु भयो ।
सेनेहाङको उपचारमा सहयोग जुटाउने क्रममा रोजगारीको शिलशिलामा कतारमा रहेका भक्त तुम्सा लिम्बूको पहलमा ७८ हजार ५ सय रुपैया सहयोग प्राप्त भएको छ । तुम्साकी श्रीमती सीता साम्बा लिम्बूले सो रकम मृगौला पीडितका वुबा अम्बर लिम्बूलाई हस्तान्तरण गरेकी छन् । त्यस्तै, संयोजक सृजना निङलेकुले आफ्नो तर्फबाट १० हजारको चेक प्रदान गरिन् ।
सेनेहाङ्गको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनामा उपचार भइरहेको छ । आर्थिक अवस्था कमजोर भएको कारण उपचारमा समस्या छ । बुवा अम्बरले विलौना गरे – ‘दवाई गर्ने पैसा छैन । बुढेसकालको एक मात्र छोराको यस्तो हालत छ । सहयोग जुटाइदिनुहोस् र बचाईदिनुहोस । सेनेहाङ्गको श्रीमती र तीन वर्षीया छोरी छन् ।