बेलबारी/ दलित उत्थान समन्वय समिति सुन्दरहरैंचाको नयाँ नेतृत्व चयनको लागि सर्व सम्मत हुन नसक्दा निर्वाचन भएको छ ।

समितिको अध्यक्ष , उपाध्यक्ष र सचिवको पदमा सहमति बन्न नसकेपछि निर्वाचन भएको थियो । अध्यक्षका लागि कुमार मिजार, महलमान शिवा र सुरेश लोहारले उमेदवारी दिएका थिए । त्यसैगरी उपाध्यक्ष पदका लागि उद्धव शिवा, धनराज रसाईली र चन्द्र वर्देवाले उमेदवारी दिएका थिए । सचिव पदका लागि माधव शिवा, जंगमान वि.क. मदन परियारले उमेदवारी दिएका थिए ।

तिनै वटा पदका लागि शनिवार निर्वाचन भएको थियो । निर्वाचनबाट अध्यक्षमा कुमार मिजारले ४५ मत ल्याएर विजयी बनेका छन् । त्यसैगरी उपाध्यक्ष र सचिव पदमा धनराज रसाईली र माधव शिवा क्रमश विजयी बनेका छन् । रसाईलीले ३७ र शिवाले ४० मत ल्याएका थिए । नगरको १२ वटा वडाबाट ६–६ जना प्रतिनिधिको छनौट उनीहरुले मतदान गर्ने गरि निर्वाचन प्रक्रियामा गएको थियो ।

कोशीहरैचा र सुन्दरदुलारी नगरपालिका मर्चभई एउटै नगरपालिका भएपछि समितिको नयाँ नेतृत्व चयन गर्ने सवालमा सहमति जुट्न नसक्दा निर्वाचन भएको थियो । समितिको अध्यक्ष , उपाध्यक्ष र सचिव पदको दावी साविक सुन्दरदुलारी र कोशीहरैंचा विच भएको थियो । सोही विषयलाई टुङ्ग्याउन निर्वाचन भएको थियो । सत्र सदस्यीय समितिका सहसचिव र कोषाध्यक्ष सन्तोष परियार र कोपिला विक क्रमश सर्वसम्मत चयन भएका छन् ।

सरकारले मानवीय संसाधनको रुपमा लक्षित समुदायलाई रकम विनियोजित गरि गाउँ र नगर तह सम्म दलितको संस्था गठन हुँदै आएको छ । पछिल्लो समयमा हिजो राज्यले उपलब्ध गराएको रकम कटौती भएकोमा हालै निर्वाचित अध्यक्ष कुमार मिजारले विरोध जनाएको छ । हाल सुन्दरहरैंचाले आठ लाख दलित उत्थान समितिलाई छुट्याएको छ ।