विराटनगर अवैद्य सुन तस्करीमा संलग्न भरिया मोरङ उर्लाबारी – ७ का ३६ वर्षीय सनम शाक्यले साढे ३३ किलो सुन हराएपछि यातना दिने क्रममा हत्या भएको मोरङ प्रहरीले गरेको प्रराम्भिक अनुसन्धानबाट खुल्न आएको छ । शाक्यलाई यातना दिदै मोरङ उर्लाबारी – १ मा पर्ने सोल्टी खोलाछेउको जंगलमा करेन्ट लगाएर हत्या गरिएको अनुसन्धानबाट खुलेको हो । शाक्यलाई यातना दिदै १८ फागुनमा हत्या गरेर शवलाई लुकाउन लैजादा शनिबार दिउँसो विराटनगर – ३ गोधुली मार्गबाट बा. १२ च ५९६३ नम्बरको स्कोर्पियो गाडीको सिटमा प्रहरीले शव फेला पारेको थियो । महानगरिय प्रहरी अपराध महाशाखा टेकु काठमाण्डौ र मोरङ प्रहरीले शाक्यको शव भेटेसँगै प्रहरीले घटना हुनुमा सुन तस्करी मुख्य कारण भएको भन्दै अनुसन्धानलाई अझै व्यापक बनाएको छ । प्रहरीले पक्राउ परेका तीन जना र हत्या गर्न प्रयोग गरेको विभिन्न उपकरण तथा औजारहरु आइतबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ । गाडी समनको शव राखी सवारी चलाउने चालक काभ्रेको मन्डन देउपुर गाउँपालिका –१२ का २९ वर्षिय टेकराज मल्ल ठकुरीलाई तत्काल त्यही गाडीबाट पक्राउ गरेको हो भने अन्य दुई जना उर्लाबारी–५ का ३७ वर्षिय मोहन काफ्ले र उर्लाबारी – ७ का ३३ वर्षिय कृष्ण भन्ने नरेन्द्र कार्कीलाई मे.१. ५३९५ नम्बरको गाडीबाट पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए । पक्राउ परेका तीन जनलाई संगठीत अपराध तथा अपहरण गरी कर्तव्य ज्यान शिर्षकमा मुद्धा दर्ता गरी जिल्ला अदालत मोरङमा सात दिनको म्याथ थप गरी अनुसन्धान जारी रहेको एसपी विसीले बताए । प्रहरीले उक्त गाडीबाट यातना दिन प्रयोग गरीएको १२ भोल्टको दुई थान ब्याट्री, करेन्ट लागउन प्रयोग गरेको तार, रडसहितको पाइप तथा उपकरण, डिसी पावरलाई एसी मा चेन्ज गर्ने इनभटर, चार थान चक्कुलगायतको विभिन्न उपकरणहरु प्रहरीले बरामद गरेको छ । यसरी गरे हत्या प्रहरीको अनुसार फागुन १५ गते सनम घरबाट हिंडेका थिए । घरबाट हिडेकै दिन सनमलाई सुन तस्करीका मालिकहरुले यिन्त्रणमा लिए । उनीसँगै सुन गायव भएपछि, सनमसहित टेकराज, नरेन्द्र, मोहनलाई सुन तस्करका मालिकहरुबाट सिरहाको लाहान झिकाइयो । लाहानमा पटकपटक सनम, नरेन्द्र र मोहनलाई यातना दिए । प्रहरीले दिएको जानकारी अनुसार यातना दिने क्रममा गाडीका ड्राइभरसमेत रहेका मल्लले पालैपाले ३ जनालाई कहिले करेण्ट लगाउने, कहिले कुटपिट गर्ने जस्ता यातना दिएका थिए । लाहानबाट सुन गायव भएको विषयमा कुनै सूचना प्राप्त गर्न नसकेपछि सुनतस्करीका मालिक काठमाडौं फर्किएका थिए भने अन्य व्यक्तिहरु २ दिनसम्म इटहरी र धरानमा बसेका थिए । त्यसबीचमा पनि तस्करहरूले उक्त समूहलाई निरन्तर ‘टर्चर’ दिइरहेका थिए । १७ गते बेलुका तस्करीका नाइकेका केही व्यक्तिसहित सनमसहितको टोलीलाई लिएर हत्या भएको स्थान उर्लाबारी–१ स्थित सोल्टी खोला छेउको जंगलममा पुगेका थिए । ‘हत्या भएको स्थानमै खाना तथा खाजा खाएको र बियरको बोतल भेटिएको छ,’ मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले भने, ‘त्यहाँ रातभर र भोलिपल्ट अबेरसम्म यातना दिने क्रममा सनमको मृत्यु भएको अनुमान छ ।’ सनमको मृत्यु भएपछि मोहन र नरेन्द्रलाई यातना दिन बन्द भयो । नरेन्द्र र मोहनलाई करेण्ट लगाएको र कुटपीट गरेको निलडाम अझै रहेको प्रहरी स्रोतको भनाइ छ । सनमको मृत्यु भइसकेपछि उनको शव, नरेन्द्र र मोहन लिएर ड्राइभर टेकराजमल्ल जंगलबाट निस्किएका थिए । टेकराजले नरेन्द्र र मोहनलाई धरान पु¥याएर सनमको शव सीमा कटाउने उद्देश्यले दक्षिण तर्फ लागेका थिए । टेकराजले शनिबार दिउँसो विराटनगरकै आसपासमा गाडीभित्रै राखेर डुलाएको २४ घण्टापछि प्रहरीले विराटनगरबाट शब फेला पारेको थियो । महानगरिय प्रहरी अपराध महाशाखा र मोरङ प्रहरीको संयुक्त टोलीले उक्त शव विराटनगर–३ बाट बरामद गरेको थियो ।