सामाजिक सुरक्षा भत्तामा चरम भ्रष्टाचार वराहक्षेत्र ११ नं. वडामा मृत्युदर्ता गरेकाको वृद्धभत्ता निकासा गरिंदै मधुवन सामाजिक सुरक्षा भत्तामा वराहक्षेत्र नगरपालिका वडा नं. ११ को वडा कार्यालयमा चरम लापरबाही भएको पाइएको छ ।

सामाजिक सुरक्षा भत्ता भनेको अशक्त, असहाय तथा वृद्धवृद्धालाई जीवन जिउन सहज होस् भन्ने आशयले नेपाल सरकारले प्रदान गर्दै आएको छ । तर खुलेआम रुपमा वडा कार्यालयका कर्मचारीहरुले मृत्यु भईसकेका मानिसहरुको समेत सामाजिक सुरक्षा भत्ता निकासा गर्ने गरेका छन् ।

वराहक्षेत्र न.पा. ११ नं. वडा साविक मधुवन गा.वि.स. बसोबास गर्ने इन्द्र प्रसाद भट्टराईको २०७१ साल चैत्र १८ गते तत्कालिन गा.वि.स.मा मृत्युदर्ता गरिएको प्रमाण छ । तथापी हालसम्म पनि उनको नामको वृद्धभत्ता वडा कार्यालयबाट निकासा हुने गरेको छ । भट्टराई मात्र हैनन् लक्ष्मीमाया विश्वकर्मा र मुसहरनी साहु तेलीको नामबाट पनि वृद्धभत्ता निकासा भईरहेको छ । तर विश्वकर्माको २०७३ श्रावण ३२ गते र तेलीको २०७२ असोज २२ गते वडा कार्यालयमा मृत्युदर्ता भइसकेको छ ।

यि त केही उदाहरण मात्र हुन् । नन्दलाल खतिवडा, पदमलाल गिरी, विर्सु उराँव, रसदुन खातुन, रामनारायण साहुतेली, हर्क बहादुर माझी, फुलमाया कामी, शंकर मुसहर, पानवती माझी लगायत दुई दर्जन बढि मृत्युदर्ता भएका मृत मानिसहरुको सामाजिक सुरक्षा भत्ता नक्कली सही र ल्याप्चे लगाई निकासा गर्ने गरेको पाइएको छ । यसरी निकासा गर्नेमा वृद्धभत्ता बाड्ने वडा कार्यालयका कर्मचारी सक्रिय देखिन्छन् । तर पनि गुपचुपमै राखिएका छन् यस्ता लाखौँ लाखको भ्रष्टाचार भएका सत्य तथ्य कुराहरु ।

हुनत वडा कार्यालयले पनि आर्थिक अनियमितता भएको कुरा स्विकार गरेको छ । यता सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कर्मचारीहरु कमला काफ्ले, संस्थागत प्रतिनिधिको रुपमा रहने रेणु मेहता, कार्यालय सहयोगी राम कुमार उराँवले समेत मिलेमतोमा काम हुने गरेको स्विकार गरेका छन् । उक्त वडा कार्यालयमा कर्मचारीहरुको दादागिरी यतिसम्म देखियो की वडा कार्यालयका खरिदार मणिलाल उराँवसंग सामाजिक सुरक्षा भत्ताको ढड्डा माग गर्दा उनले बाढी पसेर नष्ट भएको बताए ।

तर त्यही कुरा वडा अध्यक्ष केदार बिष्टसंग बुझ्दा बिष्टले वडा कार्यालयमा कहिले पनि बाढी नपसेको जानकारी दिएका छन् । अझ अचम्मको कुरा त के छ भने खरिदार उराँवले सचिवले माग गर्दासम्म उक्त ढड्डा दिएका छैनन् । यसबाट पनि प्रष्ट हुन्छ की सामाजिक सुरक्षा भत्तामा व्यापक भ्रष्टाचार भएको छ । ‘वडा कार्यालयका सचिव तथा अध्यक्षले व्यापक अनियमितता हुँदा र खरिदारले ढड्डा लुकाउँदा समेत कानुनी दायरामा नल्याउनु त तपाइहरुको कमजोरी हैनर ?’ भन्ने हाम्रो प्रश्नमा अध्यक्ष बिष्टले उक्त कुरा स्वीकार गर्नुभएको छ ।

कर्मचारीहरु माथि बढी नै विश्वास गर्नुले यस्तो समस्या आएको उहाँको तर्क छ । साथसाथै बिष्टले निज खरिदारलाई कारवाही प्रकृया अघि बढाउने समेत प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

(बराहन्युजबाट साभार