विजयपुर/धरान सरकारले १ नम्बर प्रदेश सरकारलाई विभिन्न मन्त्रालय तथा सरकारी भवन निर्माणका लागि २० बिघा जग्गा उपलब्ध गराउने भएको छ । धरान सरकारको स्वामित्वमा रहेको र संम्रक्षण गरेका जग्गाहरू प्रदेशका मन्त्रालय तथा सरकारी भवन बनाउन उपलब्ध गराउने भएको हो ।
धरानलाई १ नम्बर प्रदेशको स्थाई राजधानी बनाउन पहल गर्न धरान सरकारका तारा सुब्बाको कार्यकक्षमा भएको सर्वदलीय बैठकले २० बिगाह जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । सर्वदलीय बैठकले,प्रदेश प्रमुखको कार्यालय,मुख्यमन्त्रिको कार्यालय,प्रदेश सभा भवन सहित विभिन्न मन्त्रालयका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले सप्तरङगी पार्कमा रहेको खालि जग्गा,एन्फा टेक्नीकल सेन्टरको उत्तरपट्टिको जग्गा र सकेला पार्क दक्षिण पट्टि रहको जग्गा मन्त्रालयहरू निर्माणका लागि दिने निर्णय गरेको धरान सरकारका प्रमुख तारा सुब्बाले जानकारी दिए ।
‘धरानलाई प्रदेशको स्थाई राजधानी बनाउन प्रदेशका मन्त्रालय तथा अन्य भवनहरू निर्माण गर्न जग्गा उपलब्ध गराउने निर्णय भएको हो’ प्रमुख सुब्बाले भने ।भवनहरू निर्माण सम्पन्न नभइजेल सम्म यस अघि धरान सरकारले प्रस्ताव गरेका भवनहरू अहिलेपनि तयारी अवस्थामा रहेको उनले जानकारी दिए ।
बैठकले मन्त्रालय,संसद् भवन,प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको कार्यालय सहितका सरकारी भवन निर्माण गर्न २० बिघा जग्गा उपलब्ध गराउने र आवासका लागि नगर क्षेत्र भित्र रहेका जग्गाहरू उपलब्ध गराउने निर्णय गरेकोे धरान सरकारका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद तिम्सीनाले जानकारी दिए । बैठकले उपमहानगरपालिकाको नाममा रहेको र उपमहानगरले संम्रक्षण गरेको जग्गामात्र उपलब्ध गराउने उनले बताए ।
प्रमुख सुब्बाले चाँडै सर्वदलीय टोलीले मुख्यमन्त्री,सभामुख सहित मन्त्रीहरूलाई यो विषयको जानकारी पनि गराउने बताए ।
प्रदेशको राजधानिकालागि धरान नै उपयुक्त भएको भन्दै यस अघिपनि अभियानहरू सञ्चालन भएका थिए ।सर्वदलीय बैठकमा नेकपा एमालेका तर्फबाट कार्यवाहक अध्यक्ष नारायण सुबेदी,नेपाली काङग्रेसका नगर सभापति तिलक राई,माओवादी केन्द्रका धरान इन्चार्ज चोत्लुङ,सङ्घीय समाजवादी फोरम नेपालका नगर सचिव अनुप देवान लगायतको उपस्थिति रहेको थियो । धरानमा स्थाई राजधानी माग गर्दै सामाजिक सञ्जाल तथा सार्बनिका कार्यक्रममा अभियानहरू चल्न थालेका छन् ।