सिरहा/ सिरहाको अर्नमा गाउँपालिका–३, हरकट्टामा एक महिलाको शव फेला परेको छ ।

स्थानीय हरिदेव यादवको ३५ वर्षीय श्रीमती चन्द्रकला यादवको शव गाउँ नजिकै छेदी महतोको गहुँ बारीमा कुहिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

गएको १८ गते घाँस काट्न गएकी चन्द्रकला बेपत्ता हुनुभएको थियो । उनको शव बुधबार बिहान गहुँबारीमा फेला परेको प्रहरीले जनाएको छ । खेत हेर्न गएका स्थानीयले गन्हाएको शव गहुँ बारीमा भेटेपछि स्थानीयलाई खबर गरेका थिए ।

चन्द्रकला हराएको भोलिपल्टै उनको १३ वर्षीय छोराले प्रहरीमा आमा हराएको निवेदन दर्ता गरेपछि प्रहरीले उनको खोजी कार्य जारी राखेको प्रहरी कार्यालय सिरहाका प्रवक्ता राजन भेटवालले जानकारी दिए ।

मृत महिलाको एक छोरी र २ छोरा रहेका छन् ।  श्रीमान वैदेशिक रोजगारीको क्रममा ३ वर्षदेखि खाडी मुलुक कतारमा रहेका छन् । शवको कुहिएको हुँदा घटनाको प्रवृत्तिको विषयमा अहिले केही भन्न नसकिने प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा लगिएको छ ।