पथरी । मोरङको रंगेली नगरपालिका–५ स्थित आमगाछिमा रहेको स्थाई प्रहरी चौकीको नयाँ दुई कोठे भवन उद्घाटन गरिएको छ । नगरपालिकाको सहयोगमा निर्मित प्रहरी चौकीको भवन बुधबार एक कार्यक्रमको आयोजना गरी मोरङका एसपी अरुण कुमार बिसीले उद्घाटन गरेका हुन् । उद्घाटन पछि बोल्दै एसपी बिसिले प्रहरी र जनता नङमासुको सम्बन्ध रहेकोले प्रहरीले सर्वसाधारण हरुको जिउ धनको सुरक्षाका लागि २४ घन्टा तत्पर रहने र आफुले यस चौकीलाई सक्दो सहयोगको पहल गर्ने समेत बताए । नगरपालिकाको ६ लाख १८ हजार रुपैयाको लागतमा भवन निर्माण सम्पन भएको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यलयका इन्सपेक्टर संन्जिव बाबू खड्का, रंगेली नगरपालिका बडाध्यक्ष महान्द मंडल,स्थानीय नरेश कुमार मंडल,श्यमा मंन्डल,बुद्धिजीवी अशेश्वर मंडल लगायत स्थानीय सर्वसाधारणहरुको उपस्थित रहेको थियोे । निर्माण समितिका अध्यक्ष अशोककुमार मंण्डलले प्रतिवेदन प्रस्तुत गरेका थिए । चौकिमा १४ जना दरबन्दी रहेता पनि सइको कमान्डमा ६ जना प्रहरीले सुरक्षा गर्दै आएका छन् । प्रहरी चौकी नेपाल–भारत सिमाना देखि १ किलोमिटर उत्तरमा रहेको छ । प्रहरीचौकीको २ कठ्ठा जग्गा रहेको र उक्त जग्गामा अरु भवन निर्माण, घेराभेरा समेत गरिने स्थानीयले बताए ।