विराटनगर/ प्रदेश १ को अस्थायी राजधानी जस्तो शहर रहेको विराटनगर महानगरपालिकाले नियमित फोहोर संकलन नगरेको भन्दै आक्रोश विराटनगरका युवाहरुले महानगरपालिकामै धर्ना दिएका छन् । उनीहरुले महानगरपालिकालाई व्यंग्य गर्दै युवाहरूले २५ बोरा भन्दा बढी फोहोर संकलन गरी महानगरपालिका कार्यालय अगाडि फालिदिएर धर्ना दिएका हुन् ।

युवाहरूले विराटनगरलाई सफा राख्नुपर्ने माग गर्दै शनिबार केही समय धर्ना समेत दिएका थिए । विराटनगरको शनिमन्दिरदेखि महानगरपालिकाको कार्यालय अगाडिसम्म सरसफाइ गरेको थियो । सरसफाइमा संकलन भएको फोहोर महानगरपालिका अगाडि थुपारेर युवाले १ घण्टा धर्ना पनि दिएका थिए । धर्नामा पाँच दर्जन बढी युवा सहभागी थिए । युवाहरूले धर्ना दिने क्रममा ‘महानगर त सुत्यो सुत्यो फोहोर व्यवस्थापन कस्ले गर्ने, घरमात्रै होइन बाहिर पनि सफा राखौं, आफू बस्ने घर सफा आफैं हिंड्ने बाटो चाहिं किन फोहोर लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।

फोहोर व्यवस्थापनमा नगरपालिकाकाले उचित कदम नचालेसम्म विभिन्न कार्यक्रम गर्ने सो संस्थाका अभियान्ता सुशिल रिजालले जानकारी दिए । दजैनौं युवाहरूको समूहले फोहोरले ग्रस्त विराटनगर भएको भन्दै माहानगरले फोहोर उठाइसकेको भनिएको स्थानबाट बोराका बोरा फोहोर संकलन गरेका थिए । उक्त फोहोर युवाहरूले महानगरपालिकाको गेटमा लगेर राखे र धर्ना दिए ।

तीन हप्तादेखि सो संस्थाले नगर सरसफाइका लागि महाअभियान नाम दिएर सुरु गरेका हुन् । विराटनगरमा फोहोर सरसफाइमा यसअघि दारी ग्याङले पनि अभियान चलाएको थियो ।

हातेमालो संस्थाले आउँदो वैशाखमा ७ हजार युवाहरू उतारेर वृहत विराटनगर सरसफाइ गर्ने जनाएको छ । उक्त अवसरमा हजारौं डस्बिन बाँडिने अभियान्ता विनोद परियारले जानकारी दिए ।