काठमाडाै । तलब नपाएको १४ महिना भयो । तैपनि उत्साहसाथ कार्यालयमा काम गरिरहेका छन् । नियमित तलब पाइने ठाउँमा सरुवाको अवसर मिल्दा पनि जाँदैनन् । यति कर्तव्यनिष्ठ कर्मचारी कहाँका होलान् ?

नयाँ पत्रिका दैनिकका अनुसार, यी कर्मचारी वैदेशिक रोजगार विभाग, ताहाचलमा कार्यरत हुन् । यहाँ कार्यरत १६ कर्मचारी दरबन्दीभन्दा बढी भएपछि ६ देखि १४ महिनासम्मको तलब दिइएको छैन । तर पनि कर्मचारी गुनासो नगरी खुरुखुरु काम गरिरहेका छन् । यति लामो समयसम्मको तलब नआउँदा पनि कर्मचारी किन काम गरिरहेका छन् ? निमित्त कार्यालय प्रमुख प्रमबहादुर देशारले नयाँ पत्रिकाको प्रश्नमा यो बाध्यता भएको जनाएका छन् ।

कतिसम् मभने स्थानीय तहमा खटाइएका कर्मचारी पनि सरुवा बदर गराएर फर्किएका छन् । कार्यालय प्रमुख देशारले नयाँ पत्रिकासँग भनेका छन्– कर्मचारीको सरुवा बदर सचिव मोहनकृष्ण सापकोटाले गरिदिएका हुन् ।

नयाँ पत्रिका लेख्छ– वैदेशिक रोजगार कार्यालयमा गैरकानुनी आर्थिक स्रोत गतिलो हुने भएकाले कर्मचारी अन्यत्र जान मान्दैनन् । राजनीतिक दबावका कारण त्यहाँ बढी भएका कर्मचारीलाई अन्यत्र खटाउन नसकिएको सामान्य प्रशासन मन्त्रालय स्रोतले बताएको छ ।