मधुमल्ला ।मोटरसाइकल चोरीको अभियोगमा पक्राउ परेका मिक्लाजुङ–६ का ३५ बर्षीय धनबहादुर तामाङलाई चोरी मुद्दा चलाइएको छ । मिक्लाजुङ–६ कै महेन्द्रप्रसाद खड्काको को १३ प ८७७४ र मिक्लाजुङ–३ का पूर्णकुमार श्रेष्ठको मे ४ प ६५२६ नम्बरको मोटसाइकल चोरी भएको थियो । प्रहरी कार्यालयमा मोटरसाइकल चोरी भएको उजुरी परेपछि प्रहरी टोलीले गस्ती तीब्र पारेको थियो । पक्राउ परेका तामाङको बयानकै आधारमा चोरी भएका दुई वटा मोटसाइकल मिक्लाजुङ–६ को आँपझोला मिक्लु सामुदायिक वनबाट प्रहरीले फेला परेको थियो । सोही चोरीमा संलग्न मिक्लाजुङ– ६ का २० बर्षीय रोशन लिम्बू फरार रहेको र खोजी कार्य तीब्र पारेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिएका छन् । पक्राउ परेका तामाङलाई चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको उनले बताएका छन् । गत बिहीबार दिउँसो तामाङलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसैगरि मिक्लाजुङ–५ खोलिटार जाँतेका रामबहादुर राईबाट तीन थान भरुवा बन्दुक बरामद गरिएको छ । अर्कै घटनाको अनुसन्धानको क्रममा आइतबार राईको घरबाट सो बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ । राई भने फरार रहेका छन् । उनको खोजी कार्य गरिरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर चन्द्रबहादुर थापाले बताएका छन् ।