मोरङ/ लामो समयपछि मोरङको पथरीशनिश्चरे १० स्थित जिरिखिम्तीमा भौतिक विकासले गति लिएको अवस्थामा बुधबार शान्तिमार्गको सडक स्तरोन्नतीको योजना शिलान्यास भएको छ ।
एक कार्यक्रमकाबीच नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोला र वडा सदस्य अनोज घिमिरेले योजनाको शिलान्यास गरेका हुन् । नगर उपप्रमुख विष्ट स्थानीय एकमतका साथ अघि वढ्न आव्हान गर्दै नगरपालिकाले दुई खोलाबीचको जिरिखिम्तीका लागि विकासमा प्राथमिकता दिने वताइन् ।
नगरपालिका कार्यालयको ५ लाख तथा उपभोक्ताको ५ लाख ५ सय ३५ रुपैयाँको साझेदारी गरी १० लाख ५ सय ३५ रुपैयाँको लागतमा २ सय २८ मिटर लामो सडकको स्तरोन्नती हुने भएको हो । डाँसमोरङ्गी सामुदायिक वन उपभोक्ता समूहको कार्यालय दक्षिणको पूर्वपश्चिम सो सडकमा दुवैतर्फ वाल र बीचमा ग्राभेलिङको काम गरिने निर्माण उपभोक्ता समिति अध्यक्ष मानवहादुर दियालीले वताए ।
सोही खण्डको दक्षिणी भागमा नगरपालिका अन्तर्गत वडाको ५ लाख तथा उपभोक्ताबाट ८१ हजार ३ सय ३५ रुपैयाँ थप गरी ३ सय ३५ मिटर बाटोको स्तरोन्नती कार्य सम्पन्न भएको छ । पूर्वपश्चि मुख्य सडकको उत्तरमा रहेको सो वाटोलाई २४ फिटको निर्माण गरी दुईपट्टी छेउमा पक्की ढलान वाल समेत निर्माण गरिएको उपभोक्ता समिति अध्यक्ष नरवहादुर कटुवालले जनाए ।
नगरको डाँस र मोरङ्गी खोलाले छेकेको र पूर्वपश्चिम मुख्य सडक भन्दा होचोमा वस्ती रहेको जिरिखिम्ती छुट्टै टापूका रुपमा विकास निर्माणका कुराले समेत पछि हुँदै आएकोमा अव स्थानीय विकासमा जुट्ने क्रम अघि बढेको छ ।