मधुमल्ला । मिक्लाजुङ–७ का मगर दाजुभाईले खाडी मुलुकमा २ वर्ष कडा मेहनत गरे । राम्रो कमाई गर्ने सपना बनेर गएकी यी दाजुभाई यतिबेला आफ्नै देशमा केही गर्ने सोचका साथ मेहेनत गरिरहेका हुन् ।
२०७१ सालमा विदेशीएका मिक्लाजुङ–७ का २६ बर्षीय याम मगर २ बर्ष मलेसियामा रोजगारी गरेर स्वदेश फर्किए । सँगै घरबाट बैदेशिक रोजगारका लागि निस्केका भाई २५ बर्षीय लक्ष्मी मगर पनि दुई बर्ष दुबईमा रोजगारी गरे । त्यसपछि दाजुभाईले विदेश हुँदै सल्लाह गरी गाउँमै केही गर्ने जमर्को गरे । बैदेशिक रोजगारबाट फर्किएर मगर दाजुभाईले समिति कृषि फर्म दर्ता गरी गाउँमै कृषि कर्मतिर लागे । करिब १ बर्षको छोटो समयमै उनीहरु उदाहरणीय कृषक बनिसकेका छन् ।
उनीहरुको कृषि फर्ममा कुखुरा, सुगुर र माछा छन् । १० लाख लगानीबाट सुरु भएको उक्त फर्ममा आधा दर्जनले रोजगारीसमेत पाएका छन् । दैनिक ९ सय कुखुराको अण्डा उत्पादन गरी विक्री गर्दै आएका छन् । लियर्स कुखुरा १ हजार वटा छन् । उनीहरुको कृषि क्षेत्रमा प्राप्त गरेको सफलताको सिको गर्दै गाउँ तथा आसपासका युवासमेत कृषि क्षेत्रमा आर्कषित भएका छन् । कुखुरा पालनको एक बर्षको अन्तरालमा ठूलो सफलता हात पारेको उनीहरु बताउँछन् ।
‘स्वदेशमै केही गर्न सक्यो भने राम्रो आम्दानी गर्न सकिन्छ’ उनीहरुले उत्साहित हुँदै भने, ‘सुरुमा ढंग नपु¥याएकाले समस्या भयो, केही कुखुरा मरे, फेरि पछाडी फर्कनु परेन् ।’ ‘राम्रो आम्दानी हुने भएपछि कुखुरा पालनप्रति आर्कषण ह्वात्तै बढिरहेको उनीहरुको अनुभव छ । उनीहरु यतिबेला माछा, सुगुर र लेयर्स कुखुरा पालनबाट राम्रो आम्दानी गर्न सफल भएका छन् ।
यसरी मासिक २ लाख रुपैयाँ बराबरको अण्डा मात्रै बेचिरहेको याम बताउँछन् । उत्पादन गरेको अण्डा उर्लाबारीलगायत आसपासका क्षेत्र बजारमा पठाउने गरेको उनीहरु बताउँछन् । ‘अहिले बजारको मागअनुसार उत्पादन गर्न सकेको छैन,’ यामले भने । उत्पादन गरेको अण्डा एक दिनपनि स्टोरमा रहँदैन ।