मधुमल्ला/मोरङको मिक्लाजुङ–६ बेतिनीका बाढी पीडितहरुले खानेपानी र शौचालयको समस्या भएको बताएका छन् ।
सञ्चार क्लब नेपाल उर्लाबारीको आयोजना गरेको कार्यक्रममा बाढी पीडित गोपाल हुमागाईले तीन बर्षदेखि कठिन तरिकाले जिविकोपार्जन गर्दै आएको गुनासो गरे । तत्काल शौचालय र खानेपानीको उचित प्रबन्ध मिलाइदिन उनले आग्रह गरेका छन् । स्थानीय मिक्लु सामुदायिक वनको खाली जग्गामा बसोबास गर्दै आएका २५ परिवार अझैसम्म घर फर्किन सकेका छैनन् । बाढी पीडितका समस्या समाधानका लागि पहलकदमी गर्ने उद्देश्यले मिक्लाजुङ गाउँपालिकाको साझेदारीमा बाढी पीडितहरुको स्वास्थ्य परीक्षणसमेत गरिएको छ । उर्लाबारीस्थित गोदावरी हस्पिटल प्रा.लि.को प्राविधिक टोलीले ४० जना बाढी पीडितहरुको स्वास्थ्य परीक्षण गरेको कार्यक्रम संयोजक केशब खड्काले जानकारी दिएका छन् ।
सोही अवसरमा नयाँ बर्ष २०७५ सालको शुभकामना आदानप्रदान कार्यक्रमसमेत गरिएको थियो । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देबीप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा वडा नं. ६ वडाध्यक्ष बुद्धिलाल निरौला, गोदावरी हस्पिटल प्रा.लि.का सञ्चालक प्रकाश चौहानलगायतको उपस्थिति थियो । गाउँपालिका प्रमुख आचार्यले विकास र समृद्धिलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाका अघि बढिरहेको उल्लेख गरेका छन् । उनले मिक्लाजुङका अधिकांश भू–भाग पहाडी क्षेत्र भएका र सडक, खानेपानी, विजुलीजस्ता आधारभूत कुराहरुका बढी समस्या रहेको बताएका छन् । मिक्लाजुङ–७ बेतिनीका बाढी पीडितको समस्या जटिल रहेको उल्लेख गर्दै जतिसक्दो चाँडो समस्या समाधानका लागि पहल गर्ने उनले बताएका छन् ।
यस्तै, वडाध्यक्ष बुद्धिलाल निरौलाले बाढी पीडितहरुको समस्या समाधानका लागि आफूले सक्दो सहयोग गर्ने बचन दिएका छन् । खोला तटबन्धन भएपनि अझै ढुक्क हुने अवस्था नरहेको उनको भनाई छ । सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेतको सभापतित्वमा भएको उक्त कार्यक्रम सञ्चालक सचिब सन्तोष गौतमले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष नवराज भट्टराईले गरेका थिए ।
सोही अवसरमा क्लबद्वारा प्रकाशित २०७५ सालको क्यालेण्डर विमोचन पनि गरिएको थियो ।