विराटनगर/ करिब एक अर्बको लगानिमा विराटनगरको धरानरोडमा भाटभटेनी सुपर मार्केट सञ्चालनमा आएको छ ।
नयाँ वर्षको अवसर पारेर शनिबार मार्केट परिसर भित्र एक समारोहको बिच प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरी भाटभटेनी सञ्चालनमा आएको हो ।
साढे आठ कट्ठा क्षेत्रफलको १ लाख ४५ हजार वर्गफटमा निर्माण गरिएको भाटभटेनी सुपर मार्केट विराटनगरमा सञ्चालनमा आएको १५ औं शाखा हो । सुपर मार्केटमा ढेड लाख प्रकारको विभिन्न सामानहरु भाटभटेनीमा पाइने सुपरमार्केटका सिइओ पानु पौडेलले जानकारी दिए ।
एक नम्बर प्रदेश केन्द्रित सुविधा सम्पन्न सुपर मार्केटको सेवा उपलब्ध गराउने सोचका साथ सञ्चालनमा ल्याएको पौडेललको भनाई छ । उपभोक्ताहरुको सहजको लागि सुपर मार्केट भित्र लिफ्टको समेत व्यवस्था गरिएको छ । सुपर मार्केटको भूई तलामा खाद्यान्न सामग्री र पहिलो तलामा भान्साका सामग्री (किचन वेयर) र श्रृंगार–प्रशोधन (कस्मेटिक) का सामग्री राखिएका छन् । दोस्रो तलामा रेडिमेड गार्मेन्ट, तेस्रोमा फुटवेयर र इलेक्ट्रोनिक्स तथा चौथो तलामा फर्निचर राखिएका छन् ।
त्यस्तै पाँचौं तला मनोरञ्जन सेवाका लागि दुई वटा सिनेमा हलको व्यवस्था गरिएको छ । साथै फुड कोर्ट रेस्टुरेन्टको व्यवस्था पनि रहेको छ । सिनेमाको जिम्मा क्युएफएक्सले लिएको छ ।
भाटभटेनीले सम्पूर्ण ग्राहकका लागि हरेक सामानमा न्यूनतम १० प्रतिशत छुट उपलब्ध गराएको कम्पनीले जनाएको छ । यो सुविधा सुपर मार्केट सञ्चालन भएको एक महिलासम्म मात्र लागु हुने बताइएको छ । ‘सस्तो र सरल मुल्यमा सामाग्रीहरु विक्री गर्दछौं,’ सुपर मार्केटका सिइओ पौडेलले भने, ‘यस भाटभटेनी सुपर मार्केटले जोगवनी जाने उपभोक्ताहरुलाई पक्कै पनि रोक्नेछ ।’
सञ्चालनमा आएको भाटभटेनीमा पहिलो दिननै उपभोक्ताहरुको भिड लागेको छ । भाटभटेनी सुपर मार्केट हर्न आउने र उपभोक्ता दिनभरी भिड लागेको देखिन्थो ।