भद्रपुर । झापाको मेची नदीमा बाढीले बर्षेनी धनजनको क्षति पुर्याउदै आएकोले बाढी पीडित स्थानीय तटबन्धनको माग गर्दै भद्रपुर नगरपालिका कार्यालय पुगेका छन् । बर्षेनी डुबानको चपेटामा पर्दै आएका भद्रपुर नगरपालिका ५ मेचीकिनारका बासीन्दाले तटबन्धनको माग राखी कार्यलय पुगेका हुन् । मेची नदीमा निर्माणाधिन पुलको दायाँबायाँ निर्माण कम्पनीले तारजालीको तटबन्धन कार्य गर्दै आएको छ । कम्पनीले दक्षिणतर्फको सुकुम्बासी टोलको पूर्व पट्टीको भागमा अहिले तारजालीको तटबन्धन बनाउँदै आएको छ । तर,कम्पनीले करिब १७० मीटर तटबन्धन गरी अधुरो छाड्न लागेपछि स्थानीय बासीन्दा त्यसको विरोधमा उत्रिएका छन् । उनीहरुले सुकुम्बासी बस्तीलाई बाढीबाट जोगाउन थप ७० मीटर तटबन्धनको माग गरेका छन् । मेचीकिनारको सुकुम्बासी टोलमा करिब ४० घरपरिवार बसोबास गर्दै आएका छन् । अहिले बनाएको तटबन्धनलाई अधुरै छाडेमा बाढीले फेरी बस्ती डुबान पार्नेमा स्थानीय चिन्तित देखिएका छन् । पुल निर्माण कम्पनीले सो क्षेत्रका बस्ती डुबानमा नपर्ने गरी तटबन्धन बनाउनेमा स्थानीय र नगरपालिका ढुक्क थिए । तर, कम्पनीले आफ्नो इस्टिमेट बमोजिम अधुरो तटबन्धन बनाउने बारेमा स्थानीय बेखबर रहेको स्थानीय बिर्जु सहनीले बताए । तटबन्धनलाई नबढाए बाढीले पूरै गाउँ डुबानमा पर्ने स्थानीय महिला काली महतोले बताइन् । एकातर्फ मेचीको बाढी अर्कोतर्फ पैनीले गाउँ बर्षेनी डुबानमा पार्ने गरेको स्थानीय साबु माझीले बताए । भद्रपुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बन्धु कार्कीले मेचीकिनारको सुकुम्बसी टोलका बासीन्दाले यसअघि नै तटबन्धन निर्माणका लागि वडा कार्यालयमा लिखित पत्र बुझाइसकेको जानकारी दिए । बाढी पीडित बासीन्दा शक्रुवार विहान पुनः नगरपालिका आएपछि अधुरो तटबन्धन पूरा गराउन हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय इटहरीका इन्जिनियर उपेन्द्र दासलाई लिखित पत्र बुझाएको उनले जनाए । तटबन्धनलाई ७० मीटर लम्बाइ बढाउन वडा कार्यालयले सम्बन्धित निकायमा सक्दो पहल गर्ने उनको भनाइ छ । हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय इटहरीका इन्जिनियर उपेन्द्र दासले पुलदेखि १०५ मीटर तटबन्धन बनाउनु पर्नेमा पूल कम्पनीले त्यसलाई बढाएर १७० मीटर बनाएको जनाए । योजना कार्यालय इटहरीमा नयाँ कार्यालय प्रमुख आउन साथ यस बारेमा छलफल गरि अघि बढने उनले बताए । स्थानीयले थप ७० मीटर तटबन्धन बनाउन माग गरेकाले अहिले ताराजाली पुल कम्पनीसंग नरहेकोले केही समय पर्खिनुपर्ने उनको भनाइ छ ।