विराटनगर। पछिल्ला दिनमा विराटनगर असुरक्षित बन्दै गएको छ । प्रहरीले सक्रियता बढाएको जनाए पनि आक्रमण, कुटपिट, छुरा प्रहार, वम आक्रमण तथा गोली प्रहार सम्मका घटना भइरहेका छन् ।
तर, यसलाई नियन्त्रण गर्ने संयन्त्र भने फितलो बन्दै गएको छ । मोरङको विराटनगर–११ मा गएराति एक युवकमाथि चक्कु प्रहार गरी लुटपाट भएको छ । विराटनगर–११ स्थित सगरमाथा वोर्डिङ स्कुल नजिकै डेरा गरी बस्ने सप्तरी महुली–६ घर भएका १७ वर्षीय आशिष चौधरीमाथि अपरिचित ४/५ जनाको समूहले चक्कु प्रहार गरी नगद १८ हजार रुपैयाँ तथा मोबाइल लुटेको प्रहरीले जनाएको छ ।
राती १० बजे डेरातर्फ जाँदै गरेका चौधरीलाई उक्त समूहले रोकेर चक्कु हानी लुटपाट गरी फरार भएको घाइते चौधरीले प्रहरीलाई बताए । चौधरीको बाँया कुममा चक्कुले काटेको छ ।
उनलाई उपचारका लागि कोशी अञ्चल अस्पतालमा भर्ना गरिएको छ । लुटपाटमा संलग्न समूहको प्रहरीबाट खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यसैगरी सुनसरीको इटहरी ५ स्थित भित्री सडकमा गएराति स्थानीय २३ वर्षीय नगेन्द्र यादवलाई बाटोमा मदिरा सेवन गरेका तीन जनाको समूहले छुरा प्रहार गरी फरार भएका छन् । यादवको ढाडमा र बाँया पातामा छुरा लागेको छ ।
उनको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भई रहेको छ । घटना बारेमा प्रहरीबाट अनुसन्धान एवं छुरा प्रहार गर्ने समूहको खोजी भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।