मोरङ/ मोरङ्गको दक्षिणी क्षेत्रमा बसोवास गर्ने आदिवासी समूदायका लागि सामुहिक अन्न भकारी कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
खासगरी तराईका आदिवासी सन्थाल, मुसहर, मोहली लगायतका जातिहरुमा विगत बर्षहरुमा भोग्नु परेको अनिकालबाट पाठ सिकेर आफुहरुसँग भएको धान सामुहिक रुपमा भण्डारण गर्ने कामको प्रभावकारिता वढ्न पुगेको हो । रंगेली नगर पालिका वडा नं. २ झर्ना टोलका १८ घर परिवारले एउटा ठूलो भकारी वनाएर सामुहिक रुपमा धान राख्दै आएका छन् ।
उनीहरुमा बाहिर रोजगारीको काम पनि गर्ने र जतनसँग भकारीमा धान वचत गर्ने कुराको चेतना वढेको छ । ‘जसले गर्दा वर्षाको समयमा बाहिर काम नहुने तथा साउन भदौ महिनादेखि हुने अनिकाल टर्दै गएको छ ।’– झर्ना टोलको सामुदायिक भकारी व्यवस्थापनका अध्यक्ष पटवारे मरण्डीले भने ।
झर्नाटोलमा रहेका १८ घर परिवारलाई विपद जोखिम न्यूनिकरण गर्न विश्व लुथरन फेडरेशनको आर्थिक तथा प्राविधिक सहयोगमा लुथरन सामुदायिक कल्याण समाजले धान उपलव्ध गराएर कार्यक्रम शुरु गरेको समाजका कार्यक्रम संयोजक जोयल सोरेनले सुनाए । समाजमा बाहिर भनेजस्तो रोजगारी पनि नभेटिने साउन र भदौ महिनामा भकारीबाट अन्न वितरण गर्ने चलनले सजिलो भएको झर्नाटोलका मंगल मर्डी वताउछन् ।
उनले पहिले आफुहरुसँग अलि अलि भएको अन्न पनि खुरुखुरु खाएर सक्ने गरेको अवस्था थियो भनें अहिले ज्यालादारी काम नपाउने बेलाका लागि जोगाएर राख्ने चेतना आएपछि सजिलो भएको उल्लेख गरे । ‘काम पाउने समयमा खुरुखुरु काम गर्यो । त्यसबाट आएको पैसाले किनेर खायो । अनि काम नहुने बेलामा भकारीको धान निकाल्दा सजिलो भएको छ ।’– उनले भने ‘मेरो भागमा पनि सामुदायिक अन्न भकारीमा २ मन धान जोहो छ ।’
२ बर्ष अघि देखि शुरुवात गरेको सामुदायिक अन्न भकारीले अहिले झर्ना टोल जस्तै अन्य टोलले पनि सामुदायिक अन्न भकारी संचालन गरेका छन् । खासगरी जिल्लामा सामुदायिक भकारी राख्ने कार्यक्रम झर्नाटोलका साथै जहदा गाउँपालिका वडा नं. ४ र ५ का शान्तिसुलुक, चताम्पुर, सोहल, कानेपोखरी गाउँपालिका १ को गधाटोल, भट्टीटोल, दिपु टोलका १ सय ७५ घर लाभान्वित रहेका छन् । ऊनीहरुले १ सय ७५ मन धान ८ वटा भकारीमा भण्डारण गरेको समाजका कार्यक्रम अनुगमन तथा मुल्याङकन अधिकृत सुमन राईले जानकारी दिए ।