पानवारी । नेपाल खानेपानी संस्थान धरान शाखाका कर्मचारीले दिने खानेपानीको रसिद बिल अस्पष्टताका कारण उपभोत्ता समस्यामा पर्ने गरेका छन् ।
उपभोत्ताले नबुझ्ने गरी तिरेको नगद रसिद दिदा उपभोक्ताामा अन्यौलता सिर्जना हुने गरेको छ । जसका कारण आफुले कति रकम तिरेको भन्ने समेत थाहा हुदैन । कर्मचारीले आफुले तिरेको रकम हिनामिना गरी अनियमितता गरेको हुनसक्ने उपभोक्ताहरु बताउँछन् ।
उपभोक्ता हित संरक्षण मञ्च सुनसरी क्षेत्र नं. १ का अध्यक्ष उद्धव श्रेष्ठले आर्थिक संकलन गर्ने काउण्टरमा बस्ने कर्मचारीले यस्तो लापरवाही गर्नु अक्षम्य अपराध नै भएको बताए । उनले भने –‘अंकमा स्पष्टसँग लेख्दा त्रुटि हुने सम्भावना हुनसक्छ भनेर अक्षरमा समेत स्पष्ट लेख्नुपर्नेमा केही नबुझिने गरी लेखिनु भनेको जानाजान अनियमितता गरेको हो ।’ खानेपानी संस्थानको बिल काउण्टरमा बस्ने सबै कर्मचारीले काटेको रसिदमा लेखिएको अक्षर कुनैपनि बुझिने गरी लेखिएको छैन । खानेपानी संस्थानले दिने गरेको उपभोक्ता कार्डमा २ वर्षको कारोबार उल्लेख गरिएको हुन्छ त्यस कार्डमा लेखिएका अक्षरहरु बुझिदैनन् ।
वर्षाै अघिदेखि भएको लापरवाही बारम्बार उपभोत्ताहरुले गुनासो गर्दा समेत नसुध्रिएको भन्दै धरान–१७ की बिमला गिरीले भनिन्–‘बिल तिर्न जाँदा सधै समस्या हुन्छ, किन यसरी नबुझिने गरी लेखेको भनेर सोध्दा कर्मचारीहरु झर्किन्छन् ।’ आफुले तिरेको रकमको अभिलेख राख्ने कार्डमा लेखिएको अक्षर देखाउदै गिरीले ‘यस्तो अक्षर लेख्नु भनेको त्यसबाट अनियमितता गरी पैसा खानु भन्दा अर्काे उदेश्य नरहेको’ बताइन् ।
कुनैपनि आर्थिक कारोबार गर्ने कार्यालयको आर्थिक कारोबार स्पष्ट हुनुपर्ने, बिल भौचर लगायत रसिदहरु सबैले स्पष्ट बुझिने गरी लेखेको हुनुपर्ने नेपालको कानुनी व्यवस्था रहेको र यदि नबुझिने रसिदहरु भएमा त्यस्ता रसिदहरु मान्य नहुने लेखापरिक्षक विनोद खतिवडाले बताए । उनले भने त्यस्ता रसिदहरु वर्षाैअघिदेखिको भेटिएमा आर्थिक अनियमितता भएको हुनसक्ने सम्भवना रहेको बताए ।
यसबारे नेपाल खानेपानी संस्थान धरानका कार्यालय प्रमुख रामकुमार श्रेष्ठसँग बुझ्दा उनले कम्प्युटर सिस्टम नहुदा समस्या भएको भन्दै पन्छिएका थिए । उनले धरानमा एडिबिको खानेपानी परियोजना आउन लागेकोले कम्प्युटर सिस्टममा जान ढिला भएको बताए । तर उनलाई अक्षर लेख्ने सन्दर्भमा कम्प्युटरको भूमिका के भन्ने ब्लाष्टकर्मीको प्रश्नमा उनले कमजोरी स्वीकार गरेका थिए । उनले भने –‘हाम्रा कर्मचारीले अलिकति लापरबाही चाही गरेकै हुन् तर त्यसलाई म आजैबाट सुधार गरेर लान्छु ।’ बिल काउण्टर तथा कार्यालयमा १५ जना गरी अहिले ९० जना कर्मचारी संस्थानको धरान शाखामा कार्यरत रहेको समेत श्रेष्ठले जानकारी दिए ।
यसबारे सुनसरीका सिडिओ गोपालप्रसाद पराजुलीसँग जिज्ञासा राख्दा उनले उपभोत्ताले स्पष्ट रुपमा बुझ्ने गरी रसिद दिने कर्तव्य सम्बन्धित कार्यालयको भएको भन्दै यदि नदिएको भए तुरुन्त दिन निर्देशन दिने र अनियमितता भएको भए कानुनी कारवाही गरिने बताए ।