बिर्तामोड । नेत्र बिक्रम चन्द ‘बिप्लब’ ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर जिल्ला सरुवा गर्दै लामो समयसम्म हिरासतमा राख्न थालेको छ । अनुसंधान गर्ने समय सकिएपछि प्रहरीले रिहाइको नाममा अर्काे जिल्लामा लगेर हिरासतमा राख्न थालेको हो । नेकपाका धरान सेक्रेटरी सुरज राई, बराहनगर सेक्रेटरी सुरेश राई, इनरुवा सेक्रेटरी लक्ष्मण कार्की, बर्जु र देवानगञ्जका सेक्रेटरी मोहन कार्की र युवा तथा खेलकुद बिभागका केन्द्रिय सदस्य रोशन ढकाललाई प्रहरीले चैत्रको दोस्रो साता पक्राउ गरेको थियो । उनीहरू सुनसरीका छुट्टा छुट्टै स्थानबाट पक्राउ परेका थिए । पक्राउ पछि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय इनरुवाको हिरासतमा राखिएको थियो । चैत्र १८ गते जिल्ला अदालत सुनसरीले उनीहरूलाई रिहा गरेको थियो । त्यसपछि अदालतको गेटैबाट प्रहरीले उनीहरूलाई पुनः प्रहरी भ्यानमा हालेर बेपत्ता बनाइएको थियो । कार्यकर्ता बेपत्ता भएपछि नेकपाले प्रशासनले अदालतको अबहेलना गरेको आरोप लगाउँदै उजुरी दर्ता गरेको पार्टीका सुनसरी जिल्ला इन्चार्ज प्रज्वल श्रेष्ठले बताए । कार्यकर्ता बेपत्ता बनाएपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुली र डिएसपी नारायण चिमरीयाले समेत उनीहरूलाई रिहा गरिएकोबारे ‘केही थाह नभएको’ भन्दै ढाँटेको उनले बताए । ‘त्यसपछि सिसि टिभीको फुटेज हे¥यौं, त्यसमा प्रहरी भ्यानमा हालेर लगेको देखिएको थियो । अदालतमा त्यो फुटेज देखाएपछि भने स्थानीय प्रशासनले उनीहरूलाई झापामा राखेको सुचना दिएको थियो ।’ झापा प्रशासनले केही सार्वजनिक अपराधमा उनीहरूमाथी मुद्दा चलायो । २३ दिन सम्म हिरासतमा राखेर उनीहरूमाथी ‘अनुसंधान’ गरेको जिल्लाका एसपी बिष्णुकुमार केसीले बताए । त्यसपछि जनही १ हजार धरौटी लिएर मंगलबार उनीहरूलाई रिहा गर्ने भनियो । पक्राउ परेका नेकपाका कार्यकर्ताले फेरी पनि प्रहरीले रिहा लगत्तै पक्रिने आशंकाले धरौटी बुझाउन मानेनन् । प्रहरीले यो पटक अनुसंधान पुरा भएकाले रिहा गर्ने भन्ने आश्वासन दिएपछि उनीहरू धरौटी बुझाउन तयार भए । नेकपा स्रोतका अनुसार धरौटी बुझाए लगत्तै उनीहरूलाई प्रहरीको भ्यानमा हालेर इलाम लगियो । झापाका एसपी केसीले उनीहरू धरौटी बुझाएर रिहा भएको मात्र आफुलाई थाह भएको बताए । ‘उहाँहरू यहाँबाट रिलिज हुनुभएको छ, यहाँको घटना त्यति हो, त्यसपछि अहिले इलाममा हुनुहुन्छ अरे भन्ने सुनेको छु एसपी केसीले ब्लाष्टसँग भने । ‘प्रशासनले हामीसँग द्धन्दकालमा जस्तो ब्यवहार गर्न थालेको छ, श्रेष्ठले भने मोरङ प्रहरीले पक्राउ गरेका जिल्ला सेक्रेटरी उदय राई र भिम लिम्बुलाई अमानवीय ब्यबहार गरेको छ । उनीहरूमाथी हिरासतमा चरम यातना दिएको छ, आफन्तसँग भेट्न दिएको छैन ।’ उनीहरूमाथी राजबंदीको ब्यवहार गर्न उनले माग गरेका छन् । उनले मानवअधिकारवादी संगठनको ध्यान त्यस घटनामा आकृष्ट गराएका छन् ।