विराटनगर । प्रदेश नम्बर १ को प्रदेशसभा बैठकले गाउँसभा र नगरसभा संचालनका लागि बनेको कार्यविधि विधेयक पारित गरेको छ । बुधवार बसेको प्रदेशसभा बैठकले गाउँसभा र नगरसभा संचालन कार्यविधि (विधेयक) २०७४ संशोधनसहित पारित गरेको हो । गत शुक्रबार प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले विधेयक पेश गरेका थिए । सदनमा प्रस्तुत भएको विधेयकमाथि तीन वटा संशोधन प्रस्ताव दर्ता भएको थियो ।

सत्ता गठबन्धन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेशसभा सदस्य लक्ष्मण तिवारीले संयुक्तरूपमा २३ बुँदे संशोधन प्रस्ताव दर्ता गराएका थिए । त्यस्तै नेपाली काग्रेंसका प्रदेशसभा सदस्य सूयर्माराज राईले ६ बुँदे, राप्रपाकी इन्दिरा राईले ५ बुँदे संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो । यसअघि संसदको शून्य समयमा प्रदेशसभा सदस्यले आफ्नो क्षेत्रका समस्या तथा जनसरोकारका मुद्दामा बोलेका थिए ।