पर्सा/ सोमबार बिहान जिरा भवानीपुर गाउँपालिका–१ चिनीमिलचोकमा मादक मर्दाथ सेवन गरेर एउटै मोटरसाइकलमा सवार चार भारतीय नागरिकलाई छुटाउन जाँदा उपप्रमुखको टोली र प्रहरीबिच झडप भएको हो । जिरा भवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरी मादक पदार्थ सेवन गरेर एउटै मोटरसाइकलमा सवार चार भारतीय नागरिक र दुईजना मोबाइल चोरलाई छुटाउन इलाका प्रहरी कार्यालय सेढुवा पुगेकी थिइन् ।उनको नेतृत्वमा प्रहरी कार्यालय पुगेको टोलीसँग कुरा नमिलेपछि प्रहरीले सामान्य बल प्रयोग गरेर सेढवाबाट जिल्ला प्रहरी कार्यालय पर्सातर्फ लगेको थियो । तर, प्रहरी कार्यालय आएका स्थानीय आक्रोशित बनेर झडप परेको हो ।
झडपमा परि पाँच प्रहरी घाइते भएको छ । घाइते हुनेमा जिल्ला प्रहरी कार्यालय पर्साबाट गएका प्रहरी नायव निरीक्षक राजेश चौधरी, प्रहरी सहायक निरीक्षक गोपाल खड्का, इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी सहायक निरीक्षक सुकेश्वर महतो, पाडेपुर प्रहरी चौकीका प्रहरी हवल्दार आलोक बैठा र प्रहरी चौकी सुवर्णपुरका प्रहरी जवान जयप्रकाश यादव रहेका छन् । उनीहरूले प्रहरीको बा २ ब ५७०५ नम्बरको सरकारी मोटरसाइकल र पाडेपुरको ना १४ प ४५७७ नम्बर मोटरसाइकल जलाइदिएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको गाडी साथै इलाका प्रहरी कार्यालयको प्रतिक्षालय तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
भारतको बेतिया जिल्ला भंगहा थाना।। अन्तर्गत पर्ने शिशवा निवासी बजरंगी गौर, रामप्रबेश गौर, विष्णु भर गौर, दिनदयाल महतो लाई चेकजाँचका क्रममा मापसे गरेको र भारतीय नम्बर प्लेटको मोटरसाइकलमा चार जना सवार रहेको फेला पारेपछि आइतबार साँझ ८ बजेतिर नियन्त्रणमा लिएर ईप्रका सेढवामा राखेको थियो ।
मोबाइल चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका सुपा लामा र दिनेश लामालाई पनि प्रहरीले नियन्त्रणमा लिएर सेढवामा राखेको थियो ।