विराटनगर । १ नम्बर प्रदेशको अस्थायी राजधानी विराटनगरमा आवश्यक पर्ने घरेलु कामदार तथा श्रमीक उपलब्ध गराउने उद्देश्यले सुलभ समाधान प्रा.लि. सञ्चालनमा आएको छ । प्रालिले बुधबार पत्रकार सम्मेलन गरी घरेलु कामदारका साथै हाउस मेड, किचेन हेन्डको अव्यवस्थित समस्यालाई मध्यनजर गर्दै कम्पनी सञ्चालन ल्याएको जानकारी दिएको हो । सुलभ प्रा.लि.ले घरेलु कामदार भर्ना गर्ने र विभिन्न घर तथा संस्थामा सम्झौता गरेर काम लगाउने संस्थाका अध्यक्ष तेजराज कोइरालाले जानकारी दिए । काम लगाउने ग्राहकबाट रकम लिने र मजदुरलाई तलब दिने कोइरालाले बताए । उनले छरिएर रहेका मजदुरलाई काममा लगाउँदा सेक्युरिटी पनि नहुने र आर्थिक अवस्था पनि सुधार नहुने परिस्थितिबाट बाहिर निकाल्दै मजदुरलाई इज्जत र सम्मान प्राप्त हुने विश्वासका साथ काम सुरु गरिएको बताए । १ नम्बर प्रदेशमा यसखाले कम्पनी आफ्नो मात्रै भएको कोइरालाले दाबी गरे । यो संस्थामा काम गर्न चाहने मजदुरले घर तथा अफिसको सफासुग्घर, भाँडा वर्तन तथा लत्ताकपडा धुने काम, वृद्धवृद्धा र बालबच्चाको रेखदेख गर्ने, सुत्केरी र नवजात शिशुलाई हेरविचार गर्ने, बगैंचा, करेसाबारी तथा फूलबारीमा मालिको काम गर्ने, चिया नास्ता तथा खाना बनाउने काम, भान्सामा गर्नुपर्ने सम्पूर्ण कामलगायत गर्नुपर्नेछ । श्रम ऐन अनुसार कम्पनी दर्ता भएकोले सोही अनुसार सेवा सुविधा उपलब्ध हुने कोइरालाको भनाइ छ ।