काठमाडौं/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भारतीय सुरक्षा कमाण्डोलाई बोलाइएको भन्दै प्रमुख सत्तासाझेदार नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

प्रतिनिधि सभाको सोमवार बसेको बैठकमा माओवादी प्रवक्तासमेत रहेकी सांसद पम्फा भुसालले मोदीको भ्रमणका क्रममा भारतीय सुरक्षाकर्मीलाई अनावश्यक प्रवेश दिइएको भन्दै विरोध जनाएकी हुन् ।

‘भारतका प्रधानमन्त्रीको नेपाल भ्रमणको तिथि र मिति जुन ढंगले भारतीय मिडियाले घोषणा गर्ने गरेको देखियो । यो कुटनीतिक पहलकदमीको कमजोरी भयो ?’ भुसालले संसदमा भनिन्, ‘मोदीको भ्रमणको सुरक्षाबारे प्रश्न उठाइएको छ । छिमेकी देशका राष्ट्र र सरकार प्रमुखलाई सुरक्षा दिन सक्छौ ।’

भुसालले चीनका प्रधानमन्त्री आउँदा सुरक्षा दिएको भन्दै भारतीय प्रधानमन्त्रीलाई सुरक्षा दिन नसकिने भन्ने नभएको बताइन् । ‘अहिले जुन ढंगले सुरक्षाक कमाण्डो ल्याउने काम भयो त्यसप्रति जनताको असन्तुष्टि छ । नेपालमा आउने पाहुनालाई सुरक्षा दिन सक्दैनौ भने किन बोलाउने ?’ भुसालले प्रश्न गरिन् ।

उनले मोदीको भ्रमणमा राष्ट्रका जल्दाबल्दा समस्या समाधान नभएको बताइन् ।

‘सीमा समस्या ठूलो समस्या छ । सीमा समस्या हल गर्ने कुरा आएन । विराटनगरमा भारतले राखेको अनाकिधृत कार्यालय हटाउने कुरा आएन’ उनले भनिन्, ‘अरुण तेस्रोका सिलान्यान, प्राकृति स्रोतको लेनदेन गर्दा प्रतिनिधि सभाको दुई तिहाइले पारित गर्ने प्रावधान कता पुगेको छ ?’

भुसालले विदेशीसामु आन्तरिक समस्याको बिसुन सुकाउने कुरा स्वीकार्य नहुने बताइन् । नागरिक अभिनन्दनका बेलाका अभिव्यक्तिलाई जनताले राम्रो नमानेको उनको भनाइ छ ।