बेलबारी । भवनको अभावमा लामो समय देखि भाडामा कोठा लिएर सेवारत ट्राफिक प्रहरी पोष्ट बेलबारीको आफ्नै भवन बन्ने भएको छ । ट्राफिक प्रहरी पोष्ट बेलबारीले बुधबार सर्वपक्षीय भेलाको आयोजना गरि स्थानीय समाजसेवी प्रताप थापाको अध्यक्षतामा १३ सदस्यीय ट्राफिक भवन निर्माण समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा माधब थापा, सचिव लीला श्रेष्ठ, कोषाध्यक्ष रुक्मिणी धिमाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कन्चन राई, धर्म गुरुङ, शान्ता तामाङ, कृष्ण गुरुङ, भोला गौतम, राजेन्द्र अधिकारी, सन्देश तामाङ र बाबुराम श्रेष्ठ रहेका छन् । बेलबारीमा रहेको तामाङ घेदुङ गुम्बा र तमु बुद्धिष्ट गुम्बा बेलबारीले ट्राफिकलाई बेलबारी नगरपालिका १ दुर्गा मन्दिर नजिकै आफ्नो स्वामित्वमा रहेको जग्गा दिने भएपछि भवन बन्ने भएको हो । तामाङ गुम्बाले करिब ८ कठ्ठा र तमु वुद्धिष्ट गुम्बाले १ कट्ठा जग्गा उपलब्ध गराएको असई ललित श्रेष्ठले बताए । त्यसैगरी भेलाले तिलक राई, महेन्द्र सुवेदी, शिवप्रसाद बराल, धर्म कट्टेल अम्बिका भण्डारी, डिल्ली पुरी, गोबिन्द निरौला, पुर्ण गुरुङ र गंगा श्रेष्ठ रहेको अनुगमन समिति गठन गरेको छ ।