पथरी । मोरङको कानेपोखरी गाउँपालिका औपचारीक रुपमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ । खुल्ला दिशामुक्त गाउँपालिका घोषणा गर्दै ब्लाष्ट टाइम्स दैनिकका संवाददाता दिनेश सुब्बा सहित ५ जना व्यत्तित्वलाई नगद सहित सम्मान गरेको हो । खुल्ला दिशामुक्त क्षेत्र कार्यक्रममा ब्लाष्ट दैनिक पत्रिकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सुब्बालाई सम्मान गरेको हो । गाउँपालिकाबाट यसरी सम्मानीत हुनेहरुमा तत्कालीन वयरवन गाविस सचिवहरु हरि प्रसाद सुवेदी, केुरौन गाविस सचिव धर्मराज अधिकारी, होक्लाबारी गाविस सचिव शंखर कार्कीलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणामा महत्वपूर्ण भूमिका रहेको भन्दै नगद ५ हजार जनही सहित सम्मान पत्रले सम्मान गरेका थिए । त्यसैगरी वडा नं. १ होक्लाबारीमा अनुगमन क्रममा गाउँमै सवै भन्दा पहिले नमुना शौचालय बनाएको भन्दै हडकुवा ऋषिदेवलाई पनि नगद ५ हजार सहित सम्मान पत्रले सम्मान गरेका थिए । कार्यक्रममा गाउँपालिकाले वडा नम्बर १,२ र ५ को वडाध्यक्षलाई खुल्ला दिशा मुक्त क्षेत्र वडा घोषणाको प्रमाण पत्र दिएको थियो । कार्यक्रमा कानेपोखरी गाउँपालिका भित्र रहेका २७ जना महिला स्वास्थ स्यंमसेवीकालाई खाजा भत्ता बापत १ हजारकोदरले १ बर्षका ३ लाख २४ हजार रुपैया रकम पनि हस्तान्तरण गरेका थिए । सम्मानीत हुनेहरुलाई प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नरेश पोख्रेल, विशिष्ट अतिथि जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका डिभिजन प्रमुख राजेन्द्र प्रसाद न्यौपाने, गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र प्रशासकिय अधिकृत नारायण न्यौपानेले सम्मान पत्र प्रदान गरेका थिए । आइबार जनसेवा माविको प्राङ्गणमा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समितिका संयोजक नरेश पोख्रेल र बिशेष अतिथि जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका डिभिजन प्रमुख राजेन्द्र प्रसाद न्यौपानेले कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेलाई प्रमाण–पत्र हस्तान्तरण गर्दै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नरेश पोख्रेलले स्वास्थ नै धन हो भन्दै सिंङ्गो मोरङ जिल्ला नै खुल्ला दिशामुक्त जिल्ला घोषणाको संघारमा रहेको बताउँदै समाजमा अन्धविश्वास अझैँ रहेकोले शौचालय बन्न नसकेको र यसलाई विस्तारै निरुसाहित गरेर शौचालय बनाउँदै जानुपर्ने बताए । घोषणासँगै मोरङ जिल्लाको १७ ओटा स्थानीय निकाय मध्ये कानेपोखरी गाउँपालिका ८ औँमा पर्दछ । अन्य ९ वटा स्थानीय निकायमा घोषणा हुन बाँकी छ । २०६८ सालको जनगणना अनुसारको प्रतिवेदन अनुसार कानेपोखरी गाउँपालिकामा १७हजार४सय९२ पुरुष र २०हजार५सय ४१ ज्ना महिला सहित जम्मा ३८हजार३३ जना जनसंख्या रहेका छन् । घरपरिवार संख्या ८हजार ६सय ८३ वटा रहेका छन् । २०७५ साल जेठ सम्म घरधुरीको संख्या ८हजार ८सय ६७रहेका गाउँपालिकाको तथ्याङकमा रहेको छ । जस मध्ये ८हजार ८सय ६२ घरले शौचालय बनाएर प्रयोग गर्दै आएको गाउँपालिकाको अनुगमणले देखाएको छ । वडा नं. १ ले ११०७,वडा नं. २ ले १३६५,वडा नं. ३ले १२३७,वडा नं. ४ ले ९२८, वडा नं. ५ले १५५८,वडा नं. ६ले १४४२,वडा नंं ७ ले १२२५ घरले बनाएका छन् । साविक बयरवन गाविस अहिलेको वडा नं. ३,४,६ र ७ नम्बर वडाहरु २०७० सालमा नै सचिव हरि सुवेदीले खुल्ला दिशामुक्त घोषणा गरिसकेको थियो । त्यसैगरी साविक केरौन गाविस अहिलेको वडा नं. २ र ५ वडाहरु पनि २०७४ सालमा सचिव धर्मराज अधिकारीले घोषणा गरिसकेको थियो । साविक होक्लाबारी गाविस अहिलेको वडा नं. १ घोषणा गर्न बाँकी थियो । ९१ घरधुरीमा शौचालय निर्माृण बाँकी रहेकोले जिल्ला खानेपानी तथा सरसफाई कार्यालयबाट प्राप्त पाइप र कानेपोखरी गाउँपालिकाबाट विनियोजित २ लाख रकमबाट बाँकी रहेको शौचालय निमार्ण गरी खुल्ला दिशा मुक्त गाउँपालिका घोषणा गरेको गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले बताए । कानेपोखरी गाउँपालिका भित्र ५ ओटा संयुक्त शौचालयहरु रहेका छन् । कार्यक्रमका अध्यक्षता ताराबहादुर काफ्लेले गरेका थिए भने कार्यक्रम संचालन स्वास्थ शाखाका संयोजक बुद्धी बस्नेतले गरेका थिए ।