बेलबारी । तराईको वनमा साल रुखहरुले ढाकेको पाइएता पनि कतिपय वन क्षेत्रमा सालका विरुवा समेत रहेको छैन । त्यस्तो वन क्षेत्रहरुमा साझेदारी वनले सालको विउबाट विरुवा उमार्र्दै आएको दावी गरेका छन् । मोरङको सुन्दरहरैंचा स्थित लाटीझोडा साझेदारी वनको कतिपय कुपमा सालको विरुवा नपाईएपछि सालको विरुवा छरेर विरुवा हुर्काउन थालिएको छ । लाटीझोडाले वैज्ञानिक वन व्यवस्थापन गरेको कुप नं. १ र ३ मा सखुवाको विउ छरेर उमारेको सहायक वन अधिकृत सलाहुद्धिन अन्सारीले बताए । सो कुपमा करम र अन्य कुकाठहरु बाक्लो रुपमा रहेको छ त्यसै क्षेत्रको खाली स्थानमा सालको विउलाई अढाई मीटरको दुरीमा उमारेको अन्सारीले बताए । सालको विरुवाको नर्सरी अहिले सम्म नेपालमा नभएको कारण सालको फुलको विउ छरेर विरुवा उमेरको दावी गरेका छन् । वैज्ञानिक वन व्यवस्थापनबारे बोल्दै अन्सारीले उमेर पुगेका पुराना रुखहरुलाई उपयोगको निम्ति निकाल्नाले राज्यलाई आम्दानी हुने र काठको आपुर्ति हुने उनको भनाई छ । र, नयाँ विरुवाले प्रसस्त कार्वन लिने भएको कारण वातावरणलाई पनि सन्तुलन कायम गर्ने पनि उनले बताए । तर सामुदायिकका अभियन्ताहरु भने वैज्ञानिक वनको नाममा प्राकृतिक रुपमा उमे्रका सखुवाका ठूलो साना सबै प्रकृतिको विरुवाहरु कटान गरेर कृतिम रुपमा सालको फुल छर्नुको औचित्य नभएको बताएका छन् । साथै त्यसरी कृतिम रुपमा उमारेको सखुवा नसप्रने उनिहरुको तर्क छ । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अनुशार ८० वर्षमा सालको रुख अहिलेको जत्रो बढ्ने भनिएता पनि त्यसमा जनविश्वास भने पैदा हुन सकेको छैन । तसर्थ वैज्ञानिक वन व्यवस्थापनलाई सुधार गरेर दिगो वन व्यवस्थापनको लागू गर्नु पर्ने सामुदायिक वन उपभोक्ता महासंघ मोरङका अध्यक्ष अग्नी पौडेलको भनाई छ । दिगो वन व्यवस्थापन कार्यक्रम अनुशार बुढो,धोतपोच,बाँगो,सुखड कटान गर्ने र बाक्ला रुखहरु मात्र कटान गर्ने कार्यक्रम छ । साथै काटिएको ठाउँमा र खाली जग्गाका विरुवा लगाउने हो भने वन र वातावरण दुवै सन्तुलन हुने बताईएको छ । तर वैज्ञानिक वन व्यवस्थापन लागू भएको स्थानमा निश्चित माउ रुख राखेर सर्पट कटान गरिएको छ । सोमवार नेपाल पत्रकार मंचको नियमित अवलोकन कार्यक्रम अन्तरगत लाटीझोडा साझेदारी वन क्षेत्रमा कटान तथा पुर्नर उत्पादन गरिएको विरुवाहरुको पत्रकारहरुले अवलोकन गरेका थिए । अवलोकन कार्यक्रम अघि साझेदारी वन तथा वैज्ञानिक वनको बारेमा पत्रकार संग अन्तर क्रिया कार्यक्रम भएको थियो । कार्यक्रम मंचका अध्यक्ष मोहन भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो ।