शनिश्चरे । नगरका महिलाहरुलाई हरेक पक्षले अगाडि बढाउने उद्धेश्यले मोरङको पथरीशनिश्चरे नगरपालिकाको आर्थिक व्यवस्थापनमा नगरका महिलाहरुका लागि यसबेला २ वटा तालिम सञ्चालन भइरहेका छन् ।
सामुदायिक विकास प्रयास नेपालको आयोजनामा नगरमा यसअघि केही तालिम लिएका महिलाहरुमा ‘महिला उद्यमशीलताका लागि वजार व्यवस्थापन तालिम’ सञ्चालन भइरहेको छ ।
आइतवार सुरु भएको ४ दिने तालिममा नगरका प्रत्येक वडाबाट ५,५ जनाका दरले १० वडाका ५० जनाको सहभागिता रहेको छ । २ वटा समूहमा विभाजन गरी योजनाविद् ताराप्रसाद निरौला, मदन भण्डारी स्मृति प्रतिष्ठानका सामुदायिक विकास अधिकृत रुद्रवहादुर तामाङ र आयोजक संस्था प्रयास नेपालका कार्यकारी निर्देशक वालकृष्ण पाण्डेले तालिमको सहजिकरण गरिरहेका छन् ।
यसैगरी, नगरपालिकाको महिला विकास शाखाको आयोजनामा महिला तथा वालवालिका कार्यालयबाट गठन भएका महिला सहकारी संस्था र नवगठित महिला समितिका अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सहकारीका व्यवस्थापकबीच अन्तरक्रियात्मक तालिम सञ्चालन भएको छ । संस्थाको अवस्था विश्लेषण सहितको २ दिने सो तालिममा ३ वटा सहकारी संस्था र २ वटा नवगठित महिला समितिका १८ जनाको सहभागिता रहेको छ ।
सोमवार सम्पन्न तालिममा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले महिलाहरु हरेक हिसावले अगाडि बढ्नुपर्ने कुरामा जोड दिइन् । तालिममा, महिला तथा वालवालिका कार्यालयकी प्रमुख महिला विकास अधिकृत दुर्गा भण्डारी वराल, महिला विकास निरीक्षक राधिका कार्कीले सहजिकरण गर्नुभएको कार्यक्रम संयोजक गीता कट्टेलले जनाइन् ।