इलाम । इलाम नगरपालिका वार्ड नम्बर ९ निवासी डिल्लिमाया बस्नेत पछि निर्माणाधिन सुकिलुम्बा(फाल्गुनन्द) विमानस्थल छ वर्ष पछि सफल परिक्षण उडान भएपछि विगतको पिडा विर्सिएको बताउछिन् । उनलाई विमानस्थलमा प्लेन आउँदाको खुशी एकातिर भएपनि वर्षातको समयमा विगतको घाउको सम्झना आउने बताउछिन् ।

उनी भन्छिन् “चार वर्ष अगाडि यस्तै वर्षातको समयमा निर्माणाधिन विमानस्थलबाट गएको पहिरोले आफ्नो साडे दुई रोपनी खेत पहिरोले बगाइदियो,वर्षेनी ढल निकासको कार्य व्यवस्थित भएतापनि आफ्नो खेत घटिरहेको पिडा आफैँलाई छ । क्षतिपूर्तीको नाममा केही पाइएन सबै सरोकार निकायमा कदम चाल्दा समेत आश देखाउने पछि निराशामा परिणत हुने भयो तर, प्लेन आउने सपना नदेखेको आएर उड्यो सप पिडा भुलेर खुशी भएका छौ अब कार्यलाई तिब्र रुप दिए भविष्यमा राहत मिल्नेमा आशावादी छौ । ” यस्तै स्थानीय दिलिप चौहानले इलामको ठाँउमा प्लेन आउनु स्थानीयहरुलाई खुशी मिल्नु हो । विमानस्थल निर्माण गर्न सबैले आफ्नो वासस्थान ठाँउ छोडेर बचेको पछि भल पहिरो लगायत विविध समस्या झेल्नु परे पनि परिक्षण उडान पश्चात सबैमा हर्ष छाएको बताए । उनले भने ”क्षतिको पिडा रहेतापनि ठेक्का मार्फत बेरोजगार बन्नु परेको छैन । स्थानीय युवाहरु बेरोजगार हुनु पर्ने अवस्था छैन विहान बेलुका रोजीरोटी पाएकै छन्,अब पक्का एयरपोर्ट बन्छ भन्ने विश्वास बढेको छ ,सबैमा हर्ष छाएको छ ।” विमानस्थलको नजिकै घर रहेका अर्का युवा कमल खाती भने अब कार्य तिब्र हुदैँ गए घर फेरी सार्नुपर्ने बताउँछन् । विमानस्थललाई जग्गा बेचेपछि बाकीँ रहेको एक रोपनी जग्गामा बस्दै आएका उनी परिसरमा घर बनाउन नमिलेपछि वासस्थानको चिन्ता रहेपनि विमानस्थलको सफल परिक्षण भएपश्चात यतै आकषर््िात रहेको बताए ।

सुकिलुम्बा(फाल्गुनन्द) विमास्थलमा गत जेष्ठ २१ गते तारा एयरको विमान सफल परिक्षण उडान भएसगैँ इलाबासीमा समेत हर्ष छाएको छ । विमानस्थल निर्माण पश्चात उडानमा कुनै फल्ट नहुने तारा एयरका पाइलट प्रभाकर घिमिरेले बताएसगैँ निर्माण कार्यको सम्पन्न कहिले हुने भन्नेमा सबैको ध्यान हुन थालेको छ । इनपा ९ भञ्ज्याङ निवासी तेन्जिङ जिङ्वा परिक्षण उडान सफल भएपछि आफूहरुमा हर्षको सिमा नरहेको बताउछन् । उनी भन्छन् ”बाटो निर्माण कार्य धमाधम हुन थालेको छ,स्थानीयवासीले जग्गा चन्दा दिएर नै यो सम्भव भएको हो कतिको घर गुमे,कतिको खेत गुमे,कोही सुकुम्बासी नै बन्न पुगे तर विमानस्थल बन्ने पक्का भयो अब यसैमा सबैको खुशी रह्यो,समग्र इलाममा हर्ष छायो ।” विमानस्थल निर्माण सम्पन्न भएपश्चात आन्तरिक तथा वाह्रय पर्यटकहरुलाई इलाम,पाचँथर सहित भारतको, दार्जिलिङ, सिक्किम लगायतका स्थल अवलोकन गर्न सहज हुनेछ । हाल सम्ममा रनवेमा सुरुदेखि सम्याउन र यस अवस्थासम्म ल्याउनका लागि आठ करोड र ढल निकासका लागि ९ करोड खर्च भइसकेको छ अब पुरा निर्माण सक्न करिब ३५ करोड आवश्यक रहेको बताइएको छ । अब टर्मिनल भवन सहित सुरक्षाका लागि तारबार ग्राभेल सहित पिचका लागि सो रकम आवश्यक पर्ने बताइएको छ । धमाधम काम भए करिब दुई वर्षमा निर्माण कार्य पुरा हुने छ ।