बिर्तामोड । गत बर्ष फागुनमा सम्पन्न झापा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करणबाट १९ लाख रुपैयाँ बचत भएको छ । झापा गोल्डकप आयोजक समितिले यो रकम समेत थपेर ५० लाख रुपैंयाँको अक्षयकोष निर्माण गर्ने बताएको छ ।
चौतर्फी आलोचनाका कारण गोल्डकप आयोजक समितिले ५ महिना बित्न लाग्दा अाय व्यय सार्वजनिक गरेको छ । प्रतियोगितामा प्रायोजन गर्ने उद्योगी, ब्यवसायीहरुले आश्वासन दिएको रकम उपलब्ध नगराउँदा आय व्यय सार्वजनिक गर्न ढिलो भएको गोल्डकप आयोजक समितिका संयोजक महेन्द्र गिरीले जानकारी दिए । उनले अझै केही रकम संकलन हुन बाँकी रहेको बताए ।
समितिले सार्वजनिक गरेको आय व्यय विवरण अनुसार प्रतियोगिता सम्पन्न गर्न एक करोड चार लाख सात हजार खर्च भएको छ । आयोजक समितिले गोल्डकपबाट १८ लाख ९८ हजार रुपैयाँ बचत गरेको छ । ‘यो गोल्डकपमा गत सालको जस्तो धेरैजना आजिवन सदस्य बनाउन सकिएन’ आयोजक समितिका संयोजक गिरीले भने, ‘त्यसैले बचत पनि कम देखिएको छ ।’ झापा गोल्डकपको दोस्रो संस्करणमा ३८ लाख रुपैयाँ बचत भएको थियो ।
क्लब चलाउन गाह्राे रहेछ, मेरो दुइ बर्षको अनुभवले यो सिकायो, संयोजक गिरीले भने–‘जेके सरले कसरी थामिराख्नु भएको रहेछ भन्ने लाग्न थालेको छ अहिले ।’ उनले एउटा क्बल चलाउन बार्षिक ६० लाख रुपैंयाँ आवश्यक पर्ने बताए ।
एशियन थाई फुड्सको प्रायोजन रहेको झापा ११ क्लब अहिले सो कम्पनिसँगको तीनबर्षे अनुबन्ध सकिएपछि ‘टाइटल स्पोन्सर’ को खोजीमा रहेको छ। एसियन थाई फुड्स प्रालीसँग गरिएको तीन बर्षे सम्झौता सकिएसँगै क्लबलाई अगाडी बढाउन ‘टाइटल स्पोन्सर’ को आवश्यकता परेको हो । झापाको बिर्तामोडमा सोमबार झापा गोल्डकप २०७४ को आय व्यय सार्वजनिक कार्यक्रममा क्लबका पदाधिकारीहरुले एसियन थाई फुड्स प्रा.ली.ले आगामी सम्झौताका लागि चासो नदेखाएका कारण नयाँ ‘टाइटल स्पोन्सर’ खोज्नु पर्ने अवस्था आएको जनाएका हुन् । ‘नयाँ सम्झौताका लागि रमपमले चासो दिएको छैन’ झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङ्गले भने, ‘पहिले कै रकममा नयाँ सम्झौता गर्ने अवस्थामा हामी छैनौं ।’ झापा ११ र एसियन थाई फुड्स प्रालीबीच पहिलो बर्षका लागि ९ लाख, दोस्रो बर्षका लागि १२ लाख र तेस्रो बर्षका लागि १५ लाख रुपैयाँमा तीन बर्षे सम्झौता भएको थियो ।