पथरीशनिश्चरे । झापाको दमकमा गत वैशाखमा भएको ‘प्रथम दमक गोल्डकप फुटबल’ प्रतियोगिताको दुइमहिना पछि आम्दामी –खर्च सार्वजनिक भएको छ ।

नगरपालिका मातहतको दमक नगर खेलकुद विकास समितिले गत बैशाख १९ देखि २८ गतेसम्म सञ्चालन गराएको गोल्ड कपको सोमवार पत्रकार सम्मेलनमार्फत आम्दामी –खर्चको हिसाव सार्वजनिक गरेको हो ।

गोल्ड कप मुल आयोजक समितिका संयोजक भिमराज चम्लागाईले १ करोड १० लाख ५२ हजार ७ सय १३ रुपैयाँ आम्दानीमध्ये ७५ लाख ५७ हजार ८ सय ४४ रुँपैयाँ खर्च भएको विवरण प्रस्तुत गरेका छन् । ३४ लाख ७७ हजार ८ सय ६९ रुँपैँया बचत मौज्दात रहेको भए पनि खातामा भने अहिले २१ हजार ५ सय ४५ रुँपैँया मात्र रहेको उल्लेख गरेका छन् । गोल्ड कपका लागि दिने भनेर कवुल गरिएको रकम अझै सम्मपनि प्राप्त भएको छैन । त्यस्तो रकम आम्दामी वाँधिएपनि प्राप्त भइनसकेकाले खातामा थोरै रकम देखिन गएको संयोजक चम्लागाईँले प्रष्ट्याएका छन् ।

यूवा तथा खेलकुद मन्त्रालयले २० लाख, एशियन थाई फुड्ले ७ लाख र दमकमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी सस्थाले २ लाख ११ हजार रुँपैया कबुल गरेपनि दिइनसकेको पत्रकार सम्मेलनमा जनाइएको छ ।

विभिन्न विषय तोकेर ठूलो हिस्सामा खर्च भएको र योजना भन्दा ठूलो विषयान्तर खर्च भएको भन्दै पत्रकारले स्पष्ट प्रतिवेदन सहितको हिसाव सार्वजनिक हुनुपर्ने सुझाव दिएका थिए । गोल्डकपको ब्यवस्थापन मजबुत बनाउनु पर्ने, पार्किङका नाममा सर्वसाधारणलाई तनाव दिइएको टिप्पणी आएको समेत पत्रकारहरुले जानकारी गराएका थिए । नगर खेलकुद विकास समितिका अध्यक्ष केन्द्र प्रसाईले अवका दिनमा प्रतियोगितालाई थप व्यवस्थित गर्दै लगिने जवाफ दिएका छन् ।

दमक क्याम्पसको खेलमैदानमा सञ्चालन भएको गोल्डकप प्रतियोगितामा कडा प्रतिष्पर्धामाझ नेपाल पुलिस क्लबले ‘प्रथम दमक गोल्डकप’ फुटबलको उपाधि हात पार्दै राशी १३ लाख ११ हजार समेत प्राप्त गरेको थियो । पुलिसले मनाङ मस्र्याङ्दी क्लबसँगको कडा प्रतिष्पर्धामा १– ० गोल अन्तरले उपाधि हात पार्न सफल भएको हो । मनाङले ६ लाख ११ हजार नगद सहितको उपविजेताको उपाधि हात पारेको थियो । प्रतियोगिताको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन् गरेका थिए ।