धरान । गुरु पूर्णिमाको अवसरमा शुक्रबार धरान–५ को चुम्थङ डोजोले सरस्वती बालआश्रमका बालबालिकालाई खाजा वितरण गरेको छ । डोजोले आश्रमका २५ जना बालबालिकालाई खाजा वितरण गरेको डोजो प्रमुख स्वर्णिमहाङ फोम्बोले जानकारी दिए । डोजोमा प्रशिक्षण लिइरहेका विद्यार्थीसहित पुगेका थिए । यस क्रममा खेल र पत्रकारिता क्षेत्रका आफ्ना गुरुहरुलाई आभार व्यक्त गरे । उनले खेलमा नेपाल सितेरिया कराँते सङ्घका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य कुबेरमान राई, नेपाल सितेरिया कराँते सङ्घका राष्ट्रिय प्रशिक्षक किरण लामा र पत्रकारितामा अग्रज पत्रकार हर्ष सुब्बालाई आभार व्यक्त गरेका हुन् । त्यसक्रममा जिल्ला अध्यक्ष कुबेरमानले आश्रमलाई एकहजार ५५ रुपैयाँ आर्थिक सहयोग गरेका थिए । उनले महासङ्घको तर्फबाट आश्रमलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । आश्रमका बालबालिकाले कराते सिक्न चाहेमा निःशुल्क प्रशिक्षण गराउने उनले बताए । कार्यक्रममा आश्रमकी अध्यक्ष नैनकला न्यौपानेले डोजोलाई धन्यवाद दिइन् ।