जिरोपोइन्ट । नेपाल सितेरियो कराते सङ्घ सुनसरीले प्रदेशस्तरीय पहिलो, दोस्रो र तेस्रो डान ग्रेडिङ तालिम सोमबारबाट शुरू गरेको छ । साउन १७ गतेसम्म सञ्चालन हुने तालिममा प्रदेश १ र प्रदेश ३ गरी २ सय ५० जना प्रशिक्षार्थी सहभागी छन् । प्रदेश १ बाट २ सय ३२ जना र प्रदेश ३ बाट १८ जना खेलाडी सहभागी छन् । करातेमा खैरो पेटि (ब्राउन बेल्ट) पाएका खेलाडीहरूलाई डिप्लोमा कोर्षका लागि तालिम प्रदान गरिरहेको छ । तालिम सहभागी लिखित र मौखिक परीक्षासमेत हुने नेपाल सितेरियो कराते सङ्घ सुनसरीका अध्यक्ष कुवेर राईले बताए । तालिममा पहिलो डान पूरा गरेकाले दोस्रो डान दोस्रो पूरा गरेकाले तेस्रो डानको तालिम दिइने छ । खेलाडीहरूलाई नेपाल सितेरियो कराते सङ्घका प्रमुख प्रशिक्षक महेशकुमार श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् खेलकुद विज्ञान प्रतिष्ठानका उपनिर्देशक तुलसीकुमार महर्जन र स्थानीय प्रशिक्षकले तालिम प्रदान गरिरहेका छन् । तालिममा उत्तीर्ण हुने खेलाडीहरूलाई श्रेणीअनुसार दीक्षित गरिने छ । कार्यक्रमको उद्घाटन धरान उपमहानगरकी उपमेयर मञ्जु भण्डारीले गरेकी थिइन् ।